मुम्बई : बलिउड नायिका कंगना रनौटले गत वर्षदेखि जति चर्चा बटुलेकी छन्, त्योभन्दा बढी विवादको घेरामा पनि पर्दै आएकी छन् । उनले दिएको बयानका कारण विवादमा पर्ने मात्र होइन, अनेकन समस्यामा पनि पर्दै आएकी छन् । गत वर्ष नायक सुशान्तसिंह राजपुतको निधन भएपछि कंगनाका बयान निरन्तर चर्चामा आइरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कट्टर समर्थक कंगना आफ्नो आपत्तिजनक र विवादास्पद ट्विटका कारण पनि चर्चामा रहन्छिन् । केही समयअघि मोदी विरोधीहरूको विषयमा कडा ट्विट गरेपछि ट्विटरले एकाउन्ट नै सस्पेन्ड गरिदिएको थियो । भारतको पश्चिम बंगालमा ममता बनर्जीको पार्टीले चुनाव जितेपछि उनले आलोचना गर्दै त्यहाँ राष्ट्रपति शासन लागू गर्नुपर्ने ट्विट गरेपछि ट्विटले हिंसा भड्काउन उद्यत् रहेको भन्दै उनको एकाउन्ट नै सस्पेन्ड गरिदिएको थियो ।
विवादकै कारण गत वर्ष बीएमसीले कंगनाको मुम्बईमा रहेको अफिस भत्काइदिएको थियो । उनले केही दिनअघि काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको बताएकी थिइन् । सामाजिक सञ्जालमा उनले पहिलो पटक आफ्नो जीवनमा यस्तो परिस्थिति आएको दाबी गरेकी थिइन् । कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने नायिका भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा तिर्न पनि समस्या भएको बताएकी थिइन् । उनले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेको दाबी गर्दै काम नभएपछि गत वर्षको तुलनामा आधा रकम मात्रै तिर्न सकेको बताएकी थिइन् ।
एकपटक कंगना अर्को समस्यामा परेकी छन् । उनी आफ्नो पासपोर्ट नवीकरण नभएपछि अदालतको ढोका ढकढकाउन पुगेकी छन् । पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेपछि उनी मम्बे हाई कोट पुगेकी हुन् । उनले आफ्नो पासपोर्ट नवीकरण गरिदिनका लागि पासपोर्ट विभागलाई निर्देशन दिन अदालतसँग माग गरेकी छन् । कंगनाको निवेदन उपर अदालतले मंगलबार सुनुवाइ नगरे पनि अन्तिम समयमा किन निवेदन दिएको भनेर प्रश्न उठाएको छ । अदालतले कंगनालाई पुनः निवेदन दिन लगाउँदै त्यसको सुनुवाइ जुन २५ मा हुने जनाएको छ ।
एक चलचित्रको छायांकनका लागि कंगनालाई हंगेरीको बुडापेस्ट जानुपर्नेछ । कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिँदैछ । उनी मंगलबार त्यता जाने र २० अगस्टसम्म चलचित्र ‘धाकड’को सुटिङका लागि बुडोपेस्टमा रहने योजना थियो । यसैले, उनले पासपोर्ट नवीकरणका लागि अपिल गरेकी थिइन् । तर, कंगनाको नाममा बान्द्रा प्रहरी स्टेसनमा एफआईआर दर्ता गरिएको छ । सोही, एफआईआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट नवीकरण गर्न अस्वीकार गरेको हो । कंगनाले मंगलबार बुडापेष्टको यात्रा गर्ने पूर्व योजना भए पनि पासपोर्ट नवीकरण नभएपछि उनी रोकिएकी छन् ।
Previous Article
देशभर बाढीको बितण्डा : नारायणीले खतराको तह नाघ्यो, मनाङका तीन सयलाई सुरक्षित ठाउँमा सारियो
Next Article

नेपालमाला
