काठमाडौं : रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३–० ले पराजित गरेको छ। समूह बीअन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक÷एक गोल गरेका थिए ।
विश्व नम्बर एक बेल्जियमका लागि अर्को गोल थोमस मुनिएले गरे ।खेलको १०औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले अघिल्लो खेलमा मैदानमै बेहोस भएका डेनिस खेलाडी तथा इन्टरका सहमर्की क्रिस्टियन एरिक्सनलाई गोल समर्पण गरेका थिए ।
फिनल्याँडविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर मैदानमा बेहोस भएर ढलेका एरिक्सन खतरामुक्त रहेको जनाइएको छ ।
खेलको ३४ औं मिनेटमा थोमस मुनिएले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । खेल सकिन दुई मिनेटअघि लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।
जितपछि बेल्जियमले समूह बीमा ३ अंक जोडेको छ । रुसले हारबाट प्रतियोगिता सुरु गरेको छ ।
युरोकपमा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेर बेहोस् भएको खेलमा फिनल्यान्डले भने डेब्यु प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको छ ।

१६औं संस्करणअन्तर्गत शनिबार राति भएको समूह बीको खेलमा फिनल्यान्डले डेनमार्कलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमै खेलेको डेनमार्कका महत्वपूर्ण खेलाडी मैदानमै बेहोस् हुनु, पेनाल्टीमा गोल गर्न चुक्नु र खेल पनि गुमाउनु पर्यो ।
पहिलो पटक युरोकप खेलिरेको फिनल्यान्डको लागि जोएल पोहनपालोले ५९औं मिनेटमा गोल गरेका थिए ।
डेनमार्कले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । खेलको ७४औं मिनेटमा डेनमार्कका पिएरे एमिल होजवर्गको पेनाल्टी प्रहार फिनल्यान्डका गोलकिपरले बचाए ।
पहिलो खेलमै जित हात पारेको फिनल्यान्डले ३ अंक जोड्दा सन् १९९२ को च्याम्पियन डेनमार्कले घरेलु मैदानमै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
डेनमार्कको घरेलु मैदान कोपनहेगनमा भएको खेलको पहिलो हाफमा एउटा नराम्रो घटना हुँदा खेल एक घण्टा रोकिएको थियो । ४१औं मिनेटमा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन थ्रोबाट आएको बल लिने क्रममा बेहोस भएर मैदानमै ढलेपछि खेल रोकिएको थियो र यूर्इएफएले तत्कालका लागि खेल स्थगित गरेको थियो ।
एरिक्सनलाई मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर हस्पिटल लगियो । उनको अवस्था स्थिर भएपछि दुवै टिमलाई खेल फेरि सुरु गर्न प्रस्ताव गरेको यूर्इएफएले जनाएको छ ।
एरिक्सन मैदानमा बेहोस् हुँदा उनलाई खेलाडीहरुले घेरेर क्यामेराबाट छेकेका थिए । उनको अवस्थाको भिडियो पनि दोहोर्याएर देखाइएन । डेनिस फुटबल संघले एरिक्सनको अवस्था स्थिर भएको जनाएपछि खेल भएको थियो ।

नेपालमाला
