काठमाडौँ : कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य थप जटिल बनेको छ । आइसियूमा हाई फ्लो अक्सिजन दिँदा पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ । कोमल शाहको बिहीबार साँझदेखि नै प्लाज्मा थेरापीबाट उपचार थालिएको जनाइएको छ।
उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । अहिले पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । पूर्वरानी कोमलको स्वास्थ्यमा थप सुधार नआएमा सिंगापुर लैजाने विषयमा पनि परिवारमा छलफल भइरहेको बुझिएको छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।
उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमाला
