काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका हरेक सदस्यलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
एन्फाले उपाधिको पाँच हजार डलर पुरस्कार बाहेक खेलाडीलाई जनही थप एक लाख दिने जनाएको छ ।
दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाललाई उपाधि दिलाउन सन्जोक राई र विशाल राईले एक÷एक गोल गरेका थिए ।
थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो पटक उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुद (साफ) मा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको थियो ।
नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल सुरुवाती दुई खेल नै गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको थियो । पहिलो खेलमा किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग पनि गोलरहित बराबरी खेलेको थियो । दुवै खेलमा बराबरी खेलेको नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको थियो । पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले पराजित गरेको बंगलादेश भने शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । नेपालले सन् २०२२ मा कतारमा हुन लागको फिफा विश्वकप तयारीका लागि थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
Previous Article
गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन
Next Article

नेपालमाला
