काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बिहीबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य सुखद् सुरुआत गर्दै उपाधि जित्नु रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए ।
नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो । तीन देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीलाई १–० गोलले हराएको थियो । बंगलादेशले आत्मघाती गोल सहयोगमा जित निकालेको हो ।
दुई महिनादेखि तयारी गर्दै आएको नेपालले उत्कृष्ट प्रदर्शनसहित यस प्रतियोगिताको उपाधि चुम्ने योजना बनाएको दाबी प्रशिक्षक बालगोपालको छ । ‘किर्गिस्तान परिचित टोली हो । बंगलादेशसँग उसले खेलेको हेरेका छौं । नेपालको पहिलो लक्ष्य उत्कृष्ट प्रदर्शन हो । उत्कृष्ट प्रदर्शनपछि नतिजा राम्रो नहुने कुरै भएन । हामी घरेलु मैदानमा उपाधिसहित फुटबल समर्थकलाई खुसी दिन चाहन्छौं’, बालगोपालले भने । उनले नेपाली खेलाडीको मनोबल उच्च रहेको र टोलीमा कुनै समस्या नभएको बताए ।
किर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले बंगलादेशसँगको कमजोरी सुधार गर्ने बताए । ‘पहिलो खेलमा खेलाडीबीच तालमेल मिलेन । बलियो टोलीसँग युवा खेलाडी अत्तालिए । नेपाल झनै बलियो टोली हो । तर, पनि हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं’, झोल्डोसोभले भने ।
औसत २१÷२२ वर्ष उमेर समूहको किर्गिस्तानी टोलीमा दुई जना मात्र सिनियर खेलाडी रहेको पनि झोल्डोसोभले बताए । किर्गिस्तानले यस प्रतियोगितालाई अनुभव सँगाल्ने अवसरका रूपमा लिएको छ ।
राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा भिड्नेछन् । प्रतियोगिताको विजेता टोलीले पाँच हजार र उपविजेताले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली टोलीको घोषणा
त्रिदेशीय फुटबल प्रतियोगिताका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीको गोलरक्षकमा किरणसहित विकेश कुथु र दीप कार्की छन् । रक्षकमा रञ्जित धिमाल, निशान लिम्बू, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रविशंकर पासवान छन् । स्ट्राइकरमा अञ्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास छन् । निशान लिम्बू, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेव गुरुङ र सन्जोग राई पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

नेपालमाला
