काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अध्यक्ष केपी ओलीले फुटाएको आरोप लगाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणबा नतर्सिएको भन्दै उनले यस्तो बताएका हुन्। ‘तपाईंहरुलाई अलिकति पनि नपरोस्, हामी केपी ओलीको स्पष्टीकरणबाट तर्सिएका छैनौँ। मैदान छोडेर भाग्नेवाला छैनौं। पार्टी हामी फुटाउनेवाला छैनौँ’, नेता नेपालले भने, ‘पार्टी फुटाउने केपी ओली हुन्। पार्टी केपी ओलीले फुटाउछन्। हामी पार्टी फुटाउँदैनौँ।’
युवा विद्यार्थीलाई सम्बोधन गर्दै उनले इतिहास बताउन बाँकी नै रहेको बताए । उनले पार्टी भित्रको चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए। नेता नेपालले पार्टीभित्र देखिएका बाधा पन्छाउँदै अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाए।
उनले आफ्नो पनाती जन्मिए पनि युवा नै ठान्ने बताए। अझै संगठन बनाउन ७७ जिल्लमा पुग्ने उनको भनाइ छ।
उनले लामो संघर्षपछि ठाउँमा पुगेका मान्छेले धोका दिएको भन्दै ओलीप्रति आपत्ति जनाए। उनले ओलीले दिएको धोका सम्झिराखेको उनको भनाइ छ।
पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला गरेको उनको भनाइ छ। पार्टी ९औं महाधिवेशनले अगाडि सारेको दस्तावेज पढ्नसमेत उनले विद्यार्थी नेतालाई अनुरोध गरे।

नेपालमाला
