काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छन्। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।
‘मंगलबार अपरान्ह ४ बजे राष्ट्रपतिज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’ उनले भने,‘संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको छ।’ अधिकारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शितल निवासमा बोलाइएको बताए। संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन्।
सत्ता समीकरणको विषयमा दलहरुबीच चरणबद्ध रुपमा छलफल भइरहेको समयमा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो। सर्वोच्च अदालतको आदेशअनुसार फागुन २३ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठकमा आठ अध्यादेश पेस गर्ने कार्यसूचि थियो । सरकारले अध्यादेश पेस गर्ने प्रयास गरेपनि तर बहिष्कार, घेराउ र अवरोधले सम्भव भएन ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशहरू जारी गरेकी हुन्। कार्यसूचीमा रहेका अध्यादेशहरू जारी भएको ६ महिनाभित्र प्रतिनिधिसभाबाट पारित हुनुपर्ने प्रावधान छ।
सत्तारुढ र अन्य दलहरूबीचको विवादका कारण संसद चलाउन सभामुखलाई सकस परेको छ। सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गरिदिएसँगै राजनीतिक दलहरूले नयाँ सत्ता समीकरणको गृहकार्य थालेका छन्। हाल केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनसहित बहुमतको प्रधानमन्त्रीका रूपमा छन्।

नेपालमाला
