काठमाडौं : नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सकिएको छ। दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चले पनि विवाद समाधानको निश्कर्ष भने केही निस्केको छैंन। छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन्।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच करिब ४ महिनापछि भेटवार्ता भएको हो। सोमबारको छलफलमा दुवै पक्षबाट मन माझ्ने र तितो पोख्ने काम भएको छ। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए। तर प्रधानमन्त्री ओलीले त्यसलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरे पनि निर्णय सच्चाउने संकेत भने दिएका छैनन्।
प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।
एमालेका उपाध्यक्ष भीम रावलले फागुन २८ को निर्णय फिर्ता भएपछि थप वार्ता हुने बताए। बैठकमा सहभागी सुवास नेम्वाङले फागुन २८ गतेको निर्णयलगायतक विषयमा मतान्तर रहे पनि छलफल सरकारात्मक रहेको बताए। अर्का सहभागी रघुजी पन्तले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।
अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ । दुवै पक्षले फरकफरक रुपमा भेला र बैठक आयोजना गर्दा विभाजन झन् जटिल हुने खतरा देखिएपछि दुवैतिरका तटस्थ नेताहरूको पहलमा धुम्बाराही बैठकको पहल गरिएको हो। धुम्बाराही बैठकपछि दुवै पक्षका नेताहरू समझदारी र एकताको खाका कोर्न आन्तरिक गृहकार्यमा व्यस्त भएका छन्।

नेपालमाला
