काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । पुनस्र्थापित प्रतिनिधिसभामा आफ्नो भूमिकाबारे रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । शुक्रबार १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको जनाइएको छ।
बिहीबार कांग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि कांग्रेसमा तीन विकल्पमा छलफल भइरहेको छ । कांग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारिएको छ । संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने बुझिएको छ ।
सार्वजनिक रुपमा काँधमा जिम्मेवारी आए प्रधानमन्त्री हुनबाट नभाग्ने सभापति शेरबहादुर देउवाले बताएपनि पार्टीभित्र निर्णायक मत राखेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका केही नेता कांग्रेस सरकारमा जान नहुने र प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नुपर्ने पक्षमा छन् । केही नेताहरु भने काँग्रेसको अग्रसरता राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।
बिहीबार पार्टी पदाधिकारीसहितका शीर्षस्थ नेताको राय अनुसार संसदीय दलमा छलफल हुने छ । यस्तै दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे पनि ब्रिफिङ गर्ने छन् । कांग्रेसले आजै ठोस निर्णय लिने सम्भावना भने कम छ ।

नेपालमाला
