काठमाडौं : चर्चित स्ट्राइकर सावित्रा भण्डारीको पाँच गोलको सहयोगमा विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ६–० गोलले हरायो ।
एपीएफको जितमा सावित्राले ह्याट्रिकसहित पाँच गोल गरिन् । जारी लिगमा सावित्राले आफ्नो गोल संख्या ४३ गोल पु¥याएकी छन् । एपीएफका लागि अर्को गोल प्रिती राईले थपेकी थिइन् । एपीएफकी गीता राना प्लेयर अफ दी म्याच घोषित भइन् ।
जारी लिगका अपराजित यात्रा कायम राखेको एपीएफको यो लगातार नवौं जित हो । शीर्षस्थानमा रहेको एपीएफले २७ अंक बनाएको छ । समान खेलबाट १४ अंक बनाएको वालिङ १४ अंकसहित तेस्रो स्थानमा छ ।
यसैगरी शनिबार नै भएको अर्को खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हरायो । विराटनगरको जितमा दुवै गोल पार्वती घलेले गरिन् । चौदण्डीकी मनिता तामाङले एक गोल फर्काइन् । जितसँगै विराटनगरले १३ अंक बनाएको छ । विराटनगर तालिकाको पाँचौं स्थानमा छ । तालिकाको पुछारमा रहेको चौदण्डीगढीले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

नेपालमाला
