– रचना सिंह
पत्रु खाना नखाएर, ताजा स्वस्थ खान सिकौं
कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं ।
केही हिडौं, अल्लि उफ्रौं, कसरतको रोपौं बीउ
प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ ।
फूल बिरूवा, पशुपन्छी सबलाई हामी माया गरौं
मान्छे झ्वाट्ट नजिक आए, हामी अल्लि पर सरौं ।
अंगालेर आधुनिकता, हातै मिलाउन कोही आउलान्
प्रेमपूर्वक किटाणुलाई, फुत्त हामीतिर सार्लान् ।
स्नेहसहित नमस्कारमा आफ्ना दुवै हात जोडौं
थन्क्याइएको संस्कारलाई, अब पुनः बाहिर झिकौं ।
चीनमा खोक्दा, इटलीमा पर्न गयो प्राणघात
एकै रैछ विश्व सारा, एउटै रैछ हाम्रो जात ।
घर, तराई, पहाड, हिमाल, स्वच्छ हामी राख्न जुटौं
हुने खाने सबै मिली, हुँदा खानेको मर्का बुझौं ।
किटाणुका मित्रलाई, शत्रु हामी बनाऔं आज
उसका शत्रु, हाम्रा मित्र, यो हो जितको अर्को राज ।
नआत्तिइ, नडराइ, होसियार बन्न सिकौं
बाढी आउँदा खोला तर्न, छालसँगै बग्न सिकौं ।
कोरोनालाई हराउन, कोरोनासँगै बाँच्न सिकौं ।
कोरोनालाई हराउन कोरोनासँगै बाँच्न सिकौं ।

नेपालमाला
