–मदन बस्नेत
सुनसान देखिने सडकहरू
बाक्लिन थालिसके ।
चकमन्न रहने चोकहरु
कोलाहल मच्चाउन भ्याइसके ।
फेसबुक र ट्विटरमा गाली गर्नेहरु
शहर, बजार सबैतिर उत्रिसके ।
दिन छिप्पिदै जाँदा
भीड झन बढ्दै गएको छ ।
दिउँसो तिम्रो विरोधमा जुलुस निस्कन्छ
अनि, साँझ परेपछि राँके जुलुस देखिन्छ ।
पश्चिमको महाकाली
वरवर आउन थालिसक्यो !
उत्तरको सगरमाथा
झन, परपर जान थालिसक्यो !
त्यसैले,
तिम्रो विरोधमा
जाइलाग्नेहरुलाई छेक्न
जिउँदा, तिम्रो पुत्ला
जलाउनेहरुलाई रोक्न
पुलिस खटाउँनै पर्दैन
लाठीचार्ज गर्नै पर्दैन
अश्रुग्यास फाल्नै पर्दैन ।
न सर्प मार्नु पर्छ, न त लाठी भाँच्नु पर्छ
तिम्रा विरोधमा उत्रने सबैलाई
तिनीहरुकै घरभित्र थुन्न मिल्छ ।
गज्जबको मौका मिलेको छ
कोरोनाको बहाना जुरेको छ ।
त्यसैले सरकार,
आउ, लकडाउन बढाऊ
सम्भव भएसम्म
आफ्नो, आयु तन्काउ ।
टोरन्टो, क्यानडा
(नेपाली साहित्य समाज, टोरोन्टोले १७ मे, २०२० मा आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा वाचन गरिएको कविता)

नेपालमाला
