काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएकोे ठहर गरेको छ ।
बुधबार बसेको कांग्रेसको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने काममा निरन्तर लागेको ठहर पनि गरेको छ ।
सिंगो मुलुक कोरोना भाइरसको जोखिममा रहेका बेला सरकार एकपछि अर्को भ्रष्टाचारमा मुछिनु दुर्भाग्य भएको कांग्रेसको ठहर छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘मुलुक कोरोना भाइरसको गम्भीर जोखिममा रहेका बेला मेडिकल सामग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण हो’, ‘विवादास्पद दुई अध्यादेश ल्याउनु, राजनीतिक दल विभाजन गर्ने काममा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्नु, सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गर्नुजस्ता कार्यले सरकार निरंकुशतातर्फ अग्रसर भएको प्रष्ट भएको छ ।’
सरकारका क्रियाकलापले जनताको अभिमतको घोर उपेक्षा र अपमान गरेको भन्दै कांग्रेसले भनेको छ, नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’
कांग्रेसले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनालाई गम्भीर एवं अक्षम्य घटनाका रुपमा लिएको बताउँदै त्यसमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारवाही अगाडि बढाउन माग गरेको छ ।
यसैगरी सांसद विकास कोष खारेज गर्न पनि माग गरेको छ । कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गर्न माग गरेको हो । यो रकमबाट कोरोनाविरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न कांग्रेसले भनेको छ ।

नेपालमाला
