कोरोना कहरमा अमेरिका सबैभन्दा बढी पीडित, मर्नेको संख्या ६१ हजार नाघ्यो

काठमाडौं : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६१ हजार ६ सय ६८ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ६४ हजार पाँच सय ३३ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा एक लाख ४७ हजार चार सय ११ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म संसारभर दुई लाख २८ हजार बढीको मृत्यु भइसकेको छ । संसारभर आफ्नो चपेटामा लिएको यो भाइरसले दुई लाख २८ हजार दुई सय २३ जनाको ज्यान लिइसकेको छ । अहिलेसम्म ३२ लाख २० हजार दुई सय २५ जनामा यो भाइरसको संक्रमण देखिसकेको छ । संसारभर १० लाख तीन सय ५१ जनाले कोरोना भाइरसलाई जितेर पुनर्जीवन पाएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना उपचारपछि घर फर्किसकेका छन् भने ४१ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइसकेको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments