मध्यपूर्वको युद्धग्रस्त गाजामा तत्कालै शान्ति सम्झौता भयो र पुनर्निर्माणको अभियान पनि अविलम्ब थालियो भने पनि त्यसलाई एक वर्षअघिको स्थान र स्थितिमा पु¥याउन ३५० वर्ष लाग्ने ठोकुवा गरेका छन्– संयुक्त राष्ट्रसंघका विज्ञहरूले । अमेरिकी समाचार एजेन्सी– एपीको समाचार विश्लेषणअनुसार जुन परिणाममा गाजाको क्षति भएको छ, त्यसको पुनर्निर्माणका लागि धन र प्रविधिको अनुपात पनि त्यहीअनुसार उपलब्ध लगाउँदा त्यत्ति समय लाग्ने अनुमान विशेषज्ञहरूले लगाएका हुन् ।
सन् २०२३ को अक्टोवर ७ का दिन हमासका लडाकुले अप्रत्याशित रूपमा इजरायलमाथि आक्रमण गरेर १२ सय इजरायली नागरिकको निर्मम हत्या र २ सयभन्दा बढीको अपहरण गरेका थिए । त्यसपछि इजरायलले प्रत्याक्रमणको जुन शृंंखला चलाएको छ, त्यसलाई दोस्रो विश्वयुद्धभन्दा पनि घातक मानिएको छ । त्यसबाट अहिलेसम्म ४२ हजार प्यालेस्टाइनको हत्या भइसकेको छ । घाइते र अंगभंग भएकाको संख्या गनिसाध्य छैन । हमासका लडाकु लुक्ने गरेको बंकरलाई नष्ट पार्ने नाममा भएका आक्रमणबाट सहरका कुनै भवन गतिला बचेका छैनन् । स्कुल, कलेज तथा अस्पतालसमेत ध्वस्त भएका छन् ।
आधुनिक युग र त्यसले उत्पादन गरेको हतियारसँगको युद्ध, कति विनाशकारी र आततायी हुन सक्दो रहेको छ, इजरायलले गाजाका लडाकुहरूका ठेगाना तथा हतियार भण्डारण गर्ने (बंकर) खोज्दै नष्ट पार्नमा प्रयोग गरेका विस्फोटक हतियारले मच्चाएको विनाश लीलाले प्रष्ट पारेको छ । राष्ट्रसंघका विज्ञहरूको दाबी छ, यदि शान्ति सम्झौतापछि हमासले पहिलेकै वार्षिक उत्पादन वृद्धिदर कायम गर्न सफल भयो भने पनि बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्न उसलाई ३५० वर्ष लाग्ने ठोकुवा गरेका छन् ।
आधुनिक हतियार र जसरी पनि राजनीतिक सत्ता आर्जन गर्ने मनोकांक्षाले मानिसलाई जुन दिशामा आकर्षित गरिरहेछ, त्यसले आदर्श र विचारको ह्रास मात्र उजागर गरेको छैन, मानव जातिलाई नै अकल्पनीय विनाशतिर अघि बढाइरहेको छ ।
उता बंगलादेशको राजधानी ढाकामा आन्दोलनको दबाबका बहानामा प्रजातान्त्रिक संविधान च्यातेर अफगानिस्थानको जस्तै कट्टर मुस्लिम धर्मका मूल्य र मान्यतामा आधारित संविधान निर्माणका लागि वातावरण निर्माणमा त्यो आन्दोलनका नेताहरू जुट्न थालेका छन् । उनीहरूले मध्य रातमा उपराष्ट्रपतिलाई बलात् राजीनामा गराउन उग्रवादी तत्वलाई विद्यार्थीका नाममा अघि सारेर त्यही जुलुस लिएर राष्ट्रपति भवन पुगेको घटनाले पुष्टि गर्छ । सुरक्षा अधिकारीले राष्ट्रपति भवनलाई ब्यारिकेट नगरेको भए या त रक्तपातको अकल्पनीय नाटक मञ्चन हुने थियो अथवा सेनाका हातमा सत्ता जाने थियो ।
देशको संविधान, अन्तरिम सरकार, सर्वोच्च अदालत, सेना, प्रहरी मात्र होइन, पुराना दलका अस्तित्व र प्रभावलाई समेत ह्याकुल्लाले मिचेर विद्यार्थी शक्तिका नामको अराजक तत्वले दोस्रो चरणको जुन ताण्डव थालेको छ, त्यसको गन्तव्य त्यही हुनेमा शंका नगरे हुन्छ । नयाँ अन्तरिम सरकारलाई पनि वाइपास गरेर आन्दोलनकारी नेताहरू विद्यार्थीका नाममा अस्थिरतालाई निरन्तरता दिंदै भिडकै आडमा राजनीतिक परिवर्तनका विधि र प्रक्रियालाई पनि ध्वस्त पार्न थालिएको छ्, त्यसको गोलपोस्ट सेनाको ब्यारेक हुन पुग्यो भने आश्चर्य नमाने हुन्छ । निर्वाचनका माध्यमबाट राजनीतिक समस्याको समाधान खोज्न छाडेर परिवर्तनका नाममा भिडतन्त्रलाई फुक्का छाड्ने जुन अभ्यास हुन थालेको छ, त्यसले पनि बंगलादेश त्यही दिशामा अघि बढेको देखिन्छ । प्रजातान्त्रिक शासन व्यवस्थाको प्रक्रिया जब भंग हुन्छ, तब उत्पन्न हुने अराजकता रोक्न ब्यारेकबाट सेना सडकमा निक्लनै पर्ने हुन्छ । बंगलादेश र पाकिस्तान त्यसमा अभ्यस्त पनि छन् । त्यही अनुभवको प्रयोग, ढाकामा पनि हुन थालेको प्रष्ट देख्न थालिएको छ ।
आधुनिक हतियार र जसरी पनि राजनीतिक सत्ता आर्जन गर्ने मनोकांक्षाले मानिसलाई जुन दिशामा आकर्षित गरिरहेछ, त्यसले आदर्श र विचारको ह्रास मात्र उजागर गरेको छैन, मानव जातिलाई नै अकल्पनीय विनाशतिर अघि बढाइरहेको छ । प्यालेस्टाइनको हमास, लेवनानका हिजबुल्ला, इरानका शासक तथा मध्यपूर्वका यहुदी विरोधीले जहिलेसम्म इजरायलमाथि घेराबन्दी गरेर उसलाई त्यहाँबाट उखेलेर फाल्ने क्रूरता कायम राख्नेछन्, तबसम्म इजरायलले पनि आफ्नो आत्मरक्षाको अधिकारका लागि लडिरहनेछ भन्नेमा कसैले शंका नगरे हुन्छ, दुई हजार वर्षसम्म गुमाएको देश पुनः प्राप्त गरिछाड्ने इजरायलीको संकल्पलाई सबैले सलाम गर्नै पर्छ । बंगलादेशका जनताले पनि भिडतन्त्रबाट होइन, विदेशी हस्तक्षेपबाट पनि मुक्त प्रजातन्त्र पुनस्र्थापनामा शीघ्र सफलता पाउन्, नेपालीको यही कामना छ ।