काठमाडौँ : चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा सुरु गरेको हो । उबरले नेपालमा आफ्नो व्यवसाय दर्ताका लागि बुधबार नै उद्योग विभागमा औपचारिक आवेदनसमेत दिएको छ । उबरको एपमार्फत काठमाडौंका प्रयोगकर्ताले मोटरसाइकल र कारका सुविधा छनोट गरी यात्रा गर्न थालिसकेका छन् ।
उबरका तर्फबाट दर्ताका लागि आवेदन प्राप्त भएको उद्योग विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराले पुष्टि गरे । ‘विभागमा उबरको आवेदन परेको छ,’ उनले भने, ‘उक्त आवेदनलाई विभागले अध्ययन र पुनरावलोकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।’ उबरले पछिल्लो केही महिनायता नेपाली बजारमा आफ्नो प्रविधि परीक्षण (टेक्नोलोजी टेस्टिङ) गर्दै आएको छ । यसका लागि स्थानीय ‘भेन्डर’ सँग रणनीतिक साझेदारी गरेको पाइएको छ ।
उबरले ट्याक्सीमान्डु, बुक क्याब नाउलगायत स्थानीय अनलाइन ट्याक्सी बुकिङ तथा राइड–सेयरिङ प्लाटफर्मसँग रणनीतिक साझेदारी गरेको छ । उबरको नेपाल प्रवेश नेपाली यातायात क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि रहेको ट्याक्सीमान्डुका संस्थापक अर्जुन केसीले बताए । ‘हामी नेपालका लागि उबरको रणनीतिक साझेदारका रूपमा रहेका छौं । र, नेपालको भूगोल तथा स्थानीय आवश्यकताअनुसार उबरको प्रविधि चिनाउन सहयोग गरिरहेका छौं,’ उनले भने ।
केसीका अनुसार बुधबार दिउँसोदेखि नै एप लाइभ गरिएको छ । अहिले काठमाडौंमा प्रविधि परीक्षणसँगै रियल टाइम राइड सफलतापूर्वक भइरहेका छन् । यो साझेदारी लामो समयसम्म रहने र उबरले नेपालको बजारमा पूर्ण विश्वास नपाउँदासम्म यो मोडेलमा काम भइरहने केसीले उल्लेख गरे । ‘नेपालमा पनि उबर चल्ने भएपछि विदेशी पर्यटकलाई सहज भएको छ,’ उनले भने, ‘विभिन्न देशमा उबर चलाएको अनुभव भएका चालकमा पनि ठूलो आकर्षण देखिएको छ ।’
उबरको नेपाल आगमनका क्रममा चालकहरूको दर्ता र अनबोर्डिङ प्रक्रियालाई तीव्रता दिइएको बुक क्याब नाउका संस्थापक अशोक धमलाले जनाए । हाल करिब १ हजार चालक उबरको प्रणालीमा आबद्ध भइसकेको उनको भनाइ छ । उबरको इन्डिया टिमसँग समन्वय गरेर प्रविधि परीक्षणको काम भइरहेको र सामाजिक सञ्जालमा देखिएका दर्ताका सूचना आधिकारिक उबरकै सहमति र स्वीकृतिमा गरिएको उनले बताए । हालका लागि काठमाडौं उपत्यकालाई केन्द्रित गरी मोटरसाइकल र कार दुवै सुविधा उबर एपमा उपलब्ध गराइएको छ । दुवै रणनीतिक साझेदारका अनुसार अर्को साता उबरको बिजनेस टिम काठमाडौं आउने र थप औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी भइरहेको छ । स्थानीय सरकारको नियम र करको दायराभित्र रहेर पारदर्शी ढंगले सेवा सञ्चालन गर्ने र भविष्यमा नेपालका प्रमुख पर्यटकीय सहर पोखरा र चितवनमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

नेपालमाला
