फ्लोरिडा : अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ मा यसअघि साना भनिएका टोलीहरुको प्रदर्शन उत्कृष्ट छ । पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य पूरा गर्न वेष्टइण्डिजले १९ ओभर खेल्दै ५ विकेट गुमाउनुपरेको थियो । अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै इतिहासकै एक ठूलो उथलपुथल गर्यो । १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले विश्वको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण भएको पाकिस्तानविरुद्ध ३ विकेट गुमाउँदै बराबर गरेको थियो । उता क्यानडाले आयरल्यान्डलाई १२ रनले स्तब्ध पार्यो । अफगानिस्तानले न्युजिल्याण्डलाई ७५ रनमा अलआउट गर्दै ८४ रनको जित निकालेको थियो ।
नेदरल्यान्ड्सविरुद्ध १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । दक्षिण अफ्रिकाले १२–३ को अवस्थामा जित हात पारेको थियो ।नेपाल आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुन पुग्यो । समूह डी मा नेपालले अब दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग खेल्न बाँकी छ । बुधबार बिहान नेपालले श्रीलंकासँग खेल्दैछ । शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशसँग खेल्नेछ ।
विश्वकपअघि नेपालको लक्ष्य सुपर–८ थियो । सुपर– ८ मा पुगोस् वा नपुगोस् तर नेपाल कम्तीमा एक टेष्ट टोलीलाई हराउन चाहन्छ । कप्तान रोहित पौडेल श्रीलंका र दक्षिण अफ्रिकाको प्रदर्शन हेर्दा आफूहरु खेल जित्नेमा आशावादी रहेको बताउँछन् । ‘श्रीलंकाले यो प्रतियोगिता सोचे जस्तो खेलेको छैन । ब्याटिङ राम्रो चलेको छैन । हामीले त्यो दबाबको फाइदा उठाउँदै राम्रो बलिङ गर्दै लक्ष्य पछ्याउन पाए पहिलो पटक टेष्ट टोलीलाई हराउन सक्छौं’, खेलअघि रोहितले भने ।
दक्षिण अफ्रिकासँग श्रीलंकाले पहिला ब्याटिङ गर्दै ७७ रनमा अल आउट भएको थियो । बंगलादेशसँग ९ विकेट गुमाउँदै १२४ रन जोडेको थियो । श्रीलंका ओपनर कुशल मेन्डिस र पाथुम निसांकाको प्रदर्शनमा बढी निर्भर हुन्छ ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग १०६ रनमा अल आउट भएको थियो । नेपालले राम्रो प्रदर्शन गर्न ओपनर कुशल भुर्तेल र आसिफ शेख चल्नुपर्ने हुन्छ । नेपालले हारेमा कुनै आश्चर्य हुने छैन । तर श्रीलंकाले हारेमा सुपर–८ बाट मात्रै बाहिरिने छैन । उसको इज्जतमा पनि ठूलो धक्का लाग्नेछ । रोहित नेपाललाई भन्दा बढी दबाब श्रीलंकालाई हुने बताउँछन् ।
नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । खेलेको ११६ बल मध्य ६५ डट बल मात्रै थियो । डट बल कम नगरी नेपालले ठूलो स्कोर बनाउन सक्दैन । अमेरिकाको पिचको अवस्था नबुझेका कारण डट बल बढी भएको कप्तान रोहित बताउँछन् ।
‘अमेरिकाको कन्डिसनमा धेरै डट बल बनेको छ । पाकिस्तानविरुद्ध भारतले पनि ११९ रन मात्रै बनाउन सकेको थियो । जसले १४० रनमाथि बनाउन सक्छ त्यो विजयी इनिङ हुनसक्छ । सुरुवात पाएको ब्याटरले सदुपयोग गर्न एकदमै आवश्यक छ । पहिलो खेल सोचे जस्तो भएन । तर टिममा हामी अर्को खेल जित्छौं भनेर विश्वास गरेका छौं’, उनले भने ।
नेपाल तीन ओपनर अनिल साह, कुशल भुर्तेल र आसिफ शेखका साथ मैदान उत्रदै आएको छ । अनिल साहलाई खेलाउन मध्यक्रमका ब्याटर सन्दीप जोरालाई बेञ्चमा राखेको छ । तर अनिलले तेस्रो नम्बरमा खेल्दै आएका छन् । कुशल र आसिफ पछिल्लो ६ महिनादेखि लयमा छैनन् ।
लगातार खराब प्रदर्शन गर्दै आएका छन् । तर पनि टोलीले लगातार विश्वास देखाउँदै आएको छ । पहिलो खेलमा कुशल ७, आसिफ ४ र अनिल ११ रनमा आउट भएका थिए । सुरुवातमै विकेट जादा मध्यक्रम र तल्लोक्रमका ब्याटर खुलेर खेल्न सकेका छैनन् ।
टेष्ट टोलीलाई हराउने सोच राखेको नेपाललाई खराब लयमा भएका ओपनर खेलाउनु ठूलो जोखिमपूर्ण छ । ‘मलाई लाग्छ विश्वास गर्न एकदमै जरुरी छ । एउटा टिममा एक अर्कामाथि विश्वास गरेनौं भने नतिजा आउँदैन । यो समयमा धैर्यता हुन एकदमै जरुरी छ । सोचे जस्तो नतिजा नआएपनि परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्दैन’, रोहितले ओपनरबारे भने ।
२०२२ को टी–२० विश्वकपमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध भएको थियो । यस विश्वकपमा १०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १२–४ को अवस्थाबाट १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । बंगलादेशलाई विश्वकपअघि तीन खेलको टी–२० सिरिजमा अमेरिकाले २–१ ले हराएको थियो ।
२०२१ को टी–२० विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो । २०२२ को टी–२० विश्वकपमा श्रीलंकालाई ५५ रनले हराएको थियो । २००९ मा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ४ विकेटले हराएको थियो । २०१४ मा हङकङले बंगलादेशलाई २ विकेटले हराएको थियो । २०१४ मा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ४५ रनले हराएको थियो ।
२०२१ मा आयरल्यान्ड नामिबियासँग ८ विकेटले पराजित भएको थियो । युगान्डाले जिम्बावेलाई हराउँदै पहिलो पटक विश्वकपमा खेलेको छ । यी केही उदारण मात्रै हुन् ।
स्कटल्यान्ड, नामिबिया र नेदरल्यान्ड्स नेपालसँगैका एसोसिएट टोली हुन् । तर नेपालसँग टेष्ट टोलीलाई हराएको अनुभव छैन । नेपालले अहिलेसम्म एसोसिएटले टेष्ट टोलीलाई हराएको मात्रै देखेको छ । अहिले नेपाललाई त्यो अवसर आएको छ ।
एकै ओभरमा ६ छक्का हान्नेदेखि ९ बलमा अर्धशतक प्रहार गर्ने दीपेन्द्रसिंह ऐरीले विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । त्यस्तै कुशल मल्ल र गुलशन झा आफ्नो क्षमता अनुसार आक्रामक अलराउन्ड प्रदर्शन गर्दै विश्वको ध्यान तान्नुपर्छ ।
कुशल भुर्तेल र आसिफ शेखले टोलीको विश्वासलाई न्याय गर्नुपर्छ । करण, सोमपाल र अभिनाशले बलिङ युनिटमा उच्च प्रदर्शन गर्नुपर्छ । एउटा खेलाडीको उत्कृष्ट प्रदर्शनमा पनि नतिजा धेरै फरक पार्छ । खेलाडीलाई आफ्नो क्षमता विश्वलाई देखाउने यो भन्दा राम्रो अवसर आउने छैन ।