विष्णु थापा/डालास (अमेरिका)
नेपालले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा खराब सुरुवात गरेको छ । अमेरिकाको डालासस्थित ग्रान्ड पेरी रंगशालामा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय सात रनको लक्ष्य नेदरल्यान्ड्सले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन म्याक्स ओडाउडले अर्धशतकीय पालि खेले । उनले ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अविजित ५४ रन बनाए । यस्तै विक्रमजित सिंहले २२, साइब्रान्ट एंगेलब्रेस्टले १४ र बास डे लिडले ११ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । लगातार विकेट गुमाउँदा नेपालले निर्धारित २० ओभर पनि क्रिजमा टिक्न सकेन । नेपाल १९.२ ओभरमा एक सय ६ रनमा समेटिएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेल मात्रै लामो समयसम्म क्रिजमा टिक्न सके । उनले ३७ बलमा पाँच चौकाको मद्दतमा ३५ रन बनाए । यस्तै करण केसीले १७, गुलसन झाले १४ र अनिल साहले ११ रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई धराशयी बनाउन नेदरल्यान्ड्सका टिम प्रिङ्ले र लोगन भान विकले तीन÷तीन विकेट लिए । यस्तै पल भान मिकेरन र बास ले लिडले दुई÷दुई विकेट हात पारे । मंगलबार बिहानैदेखि पानी परेका कारण खेल निर्धारित समयभन्दा झन्डै दुई घण्टा ढिलो सुरु भएको थियो ।
टीट्वेन्टी विश्वकपअन्तर्गत समूह ‘डी’मा रहेको नेपालले जुन १२ मा अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिका र जुन १७ मा बंगलादेशको सामना गर्नेछ ।