काठमाडौं : साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २६–२४, २५–१९ को सोझो सेटमा पराजित ग¥यो । एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
सातौं संस्करणको समाप्तिमा एपीएफ छैटौंपटक च्याम्पियन बनेको हो । छैटौं संस्करणमा मात्र एपीएफ उपविजेतामा सीमित भएको थियो । त्यो संस्करणको फाइनलमा एपीएफ न्यु डायमन्डसँग चुकेको थियो । अपराजित रहँदै उपाधि जितेको एपीएफले राउन्ड रोविन लिगमा पुलिस, आर्मी र न्यु डायमन्डलाई हराएको थियो । विजेता एपीएफले चार लाख ९९ हजार र उपविजेता पुलिसले दुई लाख ५० हजार नगद पुरस्कार पाए ।
केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा साविक विजेता न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझायो । न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–२०, २५–१५, २५–२० ले पाखा लगायो । राउन्ड रोविन लिगमा पनि न्यु डायमन्डले आर्मीलाई हराएको थियो । न्यु डायमन्डकी रीमा कुँवर ‘प्लेयर अफ द म्याच’ बनिन् । न्यु डायमन्डले एक लाख २५ हजार र आर्मीले ६२ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार नगदबाट पुरस्कृत भइन् । पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आ–आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार नगद पुरस्कार जिते । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा चार टिमले प्रतिस्पर्धा गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

नेपालमाला
