काठमाडौं : समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए ।
नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले सम्हालेका थिए ।
उनले भने, ‘मोर्चाको संयोजक चार–चार महिनामा रोटेसन गर्ने, आलोपालो गर्ने कार्यविधि बनेको अवस्थामा अहिलेसम्म दुई टर्म कमरेड माधव कुमार नेपालले नेतृत्व गर्नुभयो । अबको टर्म चाहिँ नेकपाको महासचिव कमरेड विप्लवले नेतृत्व गर्ने भन्ने कुरा भएको छ । आज संयोजक परिवर्तन गर्ने निर्णय भएको छ ।’
आलोपालो नेतृत्वको प्रावधान अनुसार माधव नेपालले छाडेर विप्लवलाई संयोजक बनाइएको हो । मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए ।