काठमाडौं : नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–टुको दोस्रो खेलमा प्रभावशाली जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले बलियो टोली नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो । नेपाललाई प्रभावशाली जित दिलाउन अनिल साह र आसिफ शेखले अर्धशतकीय पालि खेलेका थिए । आक्रमक ब्याटिङ गरेका अनिलले ५७ र आसिफले ५४ रन बनाए । अनिलले ३६ बलमा चार छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए । अनिलको पछिल्लो चार खेलमा दोस्रो अर्धशतक हो । उनले क्यानडाविरुद्धको खेलमा एक शतक र एक अर्धशतक बनाएका थिए । यसैगरी आसिफले ४५ बलमा एक छक्का र आठ चौकाको मद्दतमा ५४ रनको योगदान दिए । यससँगै उनले ११ एकदिवसीय अर्धशतक पूरा गरे । यसअघि कुशल भुर्तेल ११ बलमा २८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले तीन छक्का र दुई चौका प्रहार गरे । नेदरल्यान्ड्सका भिभियन किङ्माले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ३९ ओभरमा एक सय ३७ रनमा समेटिएको थियो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।
बिहानीको सत्रमा ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए ।
खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।
स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए । त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो ।

नेपालमाला
