काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको हो । नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो । नामिबियाका जान फ्राइलिङ्कले सर्वाधिक ३४ रन बनाए । यस्तै जान निकोल इटनले ३१, मिचेल भान लिनगेनले २३, जेजे स्मिथले १७ र निकोलस डाविनले १५ रन बनाए । नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै ललित राजवंशीले दुई र कप्तान रोहित पौडेलले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४१.१ ओभरमा एक सय ३२ रनमा समेटिएको थियो । सन् २०२० यता घरेलु मैदान कीर्तिपुरमा नेपालले बनाएको अहिलेसम्मकै कम योगफल हो । यसअघि सन् २०२० मै ओमान र सन् २०२२ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक सय ७९ रनको योगफल खडा गरेको थियो ।
कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल कम योगफलमा समेटिएको हो । नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । उनले ८६ बलमा एक छक्का र दुई चौका हिर्काए । यस्तै गुलसन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । नामिबियाका गेरार्ड इरासमसले पाँच विकेट लिए । यस्तै रुबेन ट्रम्पेलमन र ज्याक ब्रसेलले दुई÷दुई तथा जान निकोल इटनले एक विकेट हात पारे ।
नामिबियासँगको हारसँगै नेपालले घरेलु मैदानमै महत्वपूर्ण दुई अंक गुमाएको छ । भारतीय प्रशिक्षक मोन्टी देसाइको आगमनपछि नेपालले घरेलु मैदानमा पहिलो हार बेहोरेको हो । एक वर्षअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ कै खेलका लागि मोन्टीले नेपालको नेतृत्व सम्हालेका थिए ।
Previous Article