काठमाडौं : प्रथम विद्यालयस्तीय तेक्वान्दो प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
विद्यालय तहमा अध्ययनरत खेलाडीहरुको खेल कौशल उजागर गर्ने र उदयीमान खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ५८९ पुरुष र ३४७ महिला गरी ९३६ जना खेलाडीको सहभागिता रहने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । निर्णायक चयनदेखि खेल स्थल व्यवस्थापनको सम्पूर्ण काम सम्पन्न भएको छ’, प्रतियोगिता संयोजक चन्दले भने, ‘उदयीमान खेलाडीका लागि यो प्रतियोगिता उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिएका छौं ।’
प्रतियोगितामा पुम्सेमा ३० र ग्योरोगीमा ३८ गरी ६८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स बब्लु सिवाकोटीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न २५ निर्णाइक, पाँच जना प्राविधिक र १० जना स्वयंमसेवक परिचालन गरिने भएको छ । प्रतियोगिता सञ्चालनका लागि चन्दको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिति र तीन उपसमिति गठन गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ लाग्नेछ । त्यसमध्ये करिब ६ लाख रुपैयाँ खेलाडी दर्ता शुल्कबाट संकलन भएको र बाँकी रकम नेपाल तेक्वान्दो संघले बेहोर्ने संयोजक चन्दले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, वरिष्ठ तेक्वान्दो प्रशिक्षक नोर्बु लामा, अन्तर्राष्ट्रिय निर्णायक निर्णायक विकेश बिडारी र नेपाल तेक्वान्दो संघका कार्यालय प्रमुख प्रल्हाद थापालगायतको उपस्थिति रहेको थियो ।