उनले निर्देशन दिएका छन्– ड्राइभरको लाइसेन्स लिन फाराम भरेर परीक्षा उत्तीर्ण गरेका १४ लाख सेवाग्राहीलाई तुरुन्त लाइसेन्स उपलब्ध गराउन निर्देशन दिन्छु ।
वाह ! क्या दिर्नेशन ! कुनै कर्मचारीले नटेर्नेमात्र होइन, उनका बाजे माओ नै ब्युँतेर आएर गर्न खोजे पनि गर्न नसक्ने कामका लागि निर्देशन दिनु भनेको हलो अड्काएर गोरु पिट्नु हो कि होइन ? हो भने त्यो व्यक्तिको हावा सुस्केको हो भन्ने मान्ने कि नमान्ने ?
किनभने त्यही छलफलमा उनले निर्देशन दिनुअगाडि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया सुरु हुने बताएका थिए । लाइसेन्स छपाइको प्रक्रिया नै सुरु भएको छैन भने १४ लाख सेवाग्राहीले तुरुन्तै लाइसेन्स पाउँछन् कसरी ? त्यो निर्देशन टपरटुइँयाको धक्कु हो कि होइन ? अर्को शब्दमा पाखण्डको प्रमाण हो कि होइन ?
महानिर्देशक रिजालले यो पनि भनेका थिए कि विभागले नयाँ लाइसेन्स छपाइका निम्ति टेन्डर गरेको तर त्यसको प्रक्रियामा पारदर्शिता नभएको भन्ने प्रश्न उठेपछि सीआईबी र अख्तियारको समेत प्रत्यक्ष संलग्नतामा छानबिन भइरहेको जानकारी गराएका थिए ।
वाह ! क्या दिर्नेशन ! कुनै कर्मचारीले नटेर्नेमात्र होइन, उनका बाजे माओ नै ब्युँतेर आएर गर्न खोजे पनि गर्न नसक्ने कामका लागि निर्देशन दिनु भनेको हलो अड्काएर गोरु पिट्नु हो कि होइन ?
त्यसको अर्थ हो, अहिलेसम्म लाइसेन्स छाप्ने टेन्डर नै भएको छैन, अख्तियार र सीआईबीले प्रक्रियाको छानबिन पूरा गरेका छैनन्, त्यस्तो अनिश्चित विषयमा समेत तुरुन्तको निर्देशन जारी गर्ने पाखण्डीको मानसिक अवस्थाको जाँच गर्ने कि नगर्ने ? त्यो काम, अब गठबन्धनले गर्ने कि बाह्रबुँदेका कर्णाधारको महानिर्देशन पर्खिने ?
यो सवाल किन उठेको हो भने नेपालको इतिहासमा यति धेरै निर्देशन पस्किने काम, यसअघि कुनै पनि सरकारले गरेको रेकर्ड भेटिँदैन । हो, २०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरण गरेपछि राजा महेन्द्रले गठन गरेको मन्त्रिमण्डलमा फागुन ८ गते विश्वबन्धु थापाको नेतृत्वमा राष्ट्रिय निर्देशन मन्त्रालय खडा गरिएको थियो । कम्युनिस्ट शासन व्यवस्था भएका देशमा त्यसअघि त्यस्तो निर्देशन मन्त्रालयका माध्यमबाट राजनीतिक क्रियाकलापमाथि नियन्त्रण गर्ने गरिन्थ्यो । त्यही प्रणाली लागू गर्न राजाको अध्यक्षतामा बनेको मन्त्रिपरिषद्मा उपाध्यक्ष तुल्सी गिरी र निर्देशन मन्त्री विश्वबन्धु थापालाई नियुक्त गरेर पञ्चायत व्यवस्थाको जग बसालिएको थियो । माओको नयाँ जनवाद छाडेर प्रचण्डले लोकतन्त्रको जामा त पहिरेका छन् तर त्यसलाई आत्मसात् गर्न नसकेर निर्देशनको नयाँ शैली अपनाएका छन्, त्यसले उनलाई त राजनीतिक रसालतमा पुर्याएकै छ, देशलाई कहाँ पुर्याउने हो, त्यो देखिन चाहिँ बाँकी छ ।
कुनै जमाना थियो, राणाको हुकुमी शासनको । त्यसलाई उखेलेर फालेपछि प्रजातन्त्र आएको हो । त्यही प्रजातन्त्रका विरुद्ध लडेर १२ बुँदेबाट लोकतन्त्रवादीमा रूपान्तरित भएका प्रचण्ड उर्फ पाखण्डीले निर्देशनबाट कुन र कस्तो व्यवस्था ल्याउन सहयोग गर्ने हुन्, त्यो पनि प्रतिक्षाकै विषय बनेको छ ।