काठमाडौं : आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् ।
अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।
७७ वटै जिल्लामा १/१ जना प्रतिनिधि खटाएको र त्यससँगै अभियानलाई थप प्रभावकारी बनाउन फरक-फरक जिल्लामा फरक-फरक समुदायका बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताहरुलाई समेत खटाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका पदाधिकारीहरुसहित शीर्ष नेता र केन्द्रीय सदस्यहरु समेतलाई फरक-फरक जिल्लामा फरक-फरक समुदायसँग संवाद गर्ने गरी खटिएको जानकारी दिए । माघ १६ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरुले सम्बन्धित जिल्लामा पुगेर फरक-फरक समुदायसँग संवाद गर्नेछन् ।
मुख्यसचिव पौडेलका अनुसार कोशी प्रदेशमा शेखर कोइराला, नारायण खड्का र बलबहादुर केसी खटिएका छन् । त्यस्तै, मधेस प्रदेश र वागमती प्रदेशका जिल्लामा प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय, मिनेन्द्र रिजाल र पुष्पा भुसाल खटिएका छन् । त्यस्तै, गण्डकी प्रदेशमा महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेशमा विमलेन्द्र निधि र डिला संग्रौला, कर्णाली प्रदेशमा डा. शशांक कोइराला र सुदूरपश्चिम प्रदेशका लागि भिष्मराज आङ्देम्बे खटिएका छन् ।