काठमाडौं: हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।
सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिइन् । ‘त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ’, एआईजी बज्राचार्यले भनिन् ।
तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै आएको बताएका छन् ।
ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडामा रहेको घरमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनलाई घरबाट पक्राउ गरिएको उनले बताइन् ।
स्रोतका अनुसार, बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।
बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।
तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।
उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।
सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, प्रहरीखाली हात फर्किनु परेको थियो ।

नेपालमाला
