काठमाडौं : १९औं एसियाली खेलकुदमा सहभागी हुन बिहीबार चीनको हाङझाव जान लागेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई ललितपुरको कुमारीपाटीमा रहेको टाइटन जिमले बिदाइ गरेको छ । टाइटन जिम एन्ड फिटनेसका सञ्चालक सुनिल राजकर्णिकारले १९औं एसियाली खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई बिदाइ गरेका हुन् ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका राजकर्णिकारले १९औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीलाई निशुल्क जिमको सुविधा प्रदान गरेका थिए। खेलाडीले सुनिल गोल्ड जिममा हरेक साता सोमबार र बिहीबार पावर ट्रेनिङ गरेका थिए । बिदाइ कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष तथा १९औं एसियाली खेलकुदमा तेक्वान्दो टोलीका टिम व्यवस्थापक भानबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
चीनको हाङझाउमा असोज ६ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा तेक्वान्दोका ११ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जसमा पाँच महिला र ६ पुरुष छन् । ग्योरोगीतर्फ महिला ४९ केजीमा अञ्जली तामाङ, ५३ केजीमा आयशा लामा, ५७ केजीमा सन्ध्याकुमारी सिंह र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुषको ५८ केजीमा राहुल कुमाल, ६३ केजीमा गोविन्द्रबहादुर आले, ६८ केजीमा वीरबहादुर महरा, ८० केजीमुनिमा अभिषेक बराल र ८० केजीमाथिको तौल समूहमा ज्याकी यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यस्तै पुम्सेको महिलामा स्वस्तिका तामाङ र पुरुषमा प्रेमबहादुर लिम्बूले प्रतिस्पर्धा गर्ने छन् ।
१९औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदै छ । जसमा २ सय ५३ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताका लागि नेपालले स्वदेश तथा विदेशमा विशेष तयारी गरिरहेको छ । तेक्वान्दो खेलाडीलाई टार्जन सुब्बा, कविराज खड्गी र कुमार लामा घिसिङले प्रशिक्षण दिइरहेका छन् ।

Next Article