काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले कमजोर ब्याटिङ गरेको छ । भुटानविरुद्ध जितका लागि ४० रनको सामान्य लक्ष्य पछ्याउँदा नेपालले ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो । चार खेलाडी सून्य रनमा पेलेलियन फर्किँदा नेपालले जितका लागि संघर्ष गर्नु परेको थियो । नेपालका प्रारम्भिक ब्याटर कविता कुँवर, अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्काले खाता खोल्न नसक्दा अन्य खेलाडीलाई दबाब परेको थियो ।
४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । नेपाललाई जित दिलाउन कप्तान रुबिना क्षत्रीले सर्वाधिक १२ रन बनाइन् । उनले २३ बलमा एक चौका प्रहार गरिन् । उनी बाहेक अरु खेलाडीले दोहोरो अंकमा रनब नाउन सकेनन् । कविता जोशीले ९, सीता रानामगरले ८ र पूजा महतोले ३ रन बनाए । नेपाललाई दबाबमा राख्न भुटानकी अञ्जली घलेले तीन विकेट लिइन् । यस्तै घिसिङ जाङ्बोले दुई तथा अञ्जु गुरुङ र सोनम छोदेनले एक÷एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रनको योगफल खडा गरेको थियो । भुटानका लागि कप्तान डेचेन वाङ्बोले सर्वाधिक २१ रन बनाइन् । भुटानलाई कम योगफलमा रोक्न नेपालकी पूजा महतोले तीन विकेट लिइन् । यस्तै कविता कुँवर, कप्तान रुबिना क्षत्री र खुसी डंगोलले एक÷एक विकेट लिए ।

Previous Article
सोह्र वर्षपछि नेपाल विश्व भारोत्तोलनमा
Next Article