काठमाडौं : प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।
संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ । समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।
बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बोलाइएको छ। यसअघि पनि प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो। यसैगरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।