काठमाडौं : सुनिल गोल्ड जिम तथा टाइटन जिम तथा फिटनेसका सञ्चालक सुनिल राजकर्णिकार सम्मानित भएका छन् । जिम तथा फिटनेस स्थापना गरी स्वस्थ नागरिक उत्पादनमा पु¥याएको योगदानको कदर गर्दै ललितपुर महानगरपालिकाले राजकर्णिकारलाई प्रसंशापत्रबाट सम्मान गरेको हो ।
‘ललितपुर महानगरपालिका–१४ मा जिम स्थापना गरी युवाहरुलाई स्वस्थ बनाउन पु¥याएको योगदान प्रसंशनीय छ । व्यक्तिको स्वास्थ्य, शारीरिक तन्दुरुस्तीमा रहने र सोका लागि शारीरिक सुगठनले महत्वपूर्ण भूमिका खेल्ने भएकाले गोल्ड जिमबाट ललितपुरवासी युवा लाभान्वित भएका छन्’, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित प्रसंशापत्रमा भनिएको छ ।
राजकर्णिकार वि.सं २०४५ सालदेखि जिम तथा फिटनेस पेसामा सक्रिय रहँदै आएका छन् । उनले २०४९ मा सुनिल गोल्ड जिम स्थापना गरेका थिए । सो जिम अहिले पनि निरन्तर रुपमा सञ्चालन भइरहेको छ । यससँगै ललितपुरको कुमारी पाटीमा टाइटन जिम एन्ड फिटनेस पनि सञ्चालन गर्दै आएका छन् ।
राजकर्णिकार नेपाली खेलकुद क्षेत्रमा पनि चिरपरिचत नाम हो । उनी वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन (डब्लुबीपीएफ) का रेफ्री जर्ज पनि हुन् । उनले भारत, थाइल्यान्डलगायतका मुलुकमा भएका अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा रेफ्री जर्जको भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका राजकर्णिकारले चीनको हाङझाउमा आयोजना हुने १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीलाई सुनिल गोल्ड जिममा निशुल्क पावर ट्रेनिङको व्यवस्था गराउँदै आएका छन् । सुनिलले १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षण सञ्चालन हुञ्जेलसम्मका लागि तेक्वान्दो खेलाडीलाई जिमको सुविधा उपलब्ध गराउने भएका हुन् । तेक्वान्दोका प्रशिक्षक कुमार लामा घिसिङका अनुसार हरेक साता सोमबार र बिहीबार सुनिल गोल्ड जिममा पावर ट्रेनिङ सञ्चालन भइरहेको छ ।
Next Article