चितवन : पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने छ। पानी परिरहेको र अझै पहिरो बारम्बार झरिरहेकोले पहिरो पन्छान आज दिनभरि लाग्ने सडक डिभिजन कार्यलयका सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
हिजो दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकै सुख्खा पहिरो खसेको थियो। हिजोदेखि उक्त सडकमा सवारी सञ्चालनमा आउन सकेको छैन।
आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको र उक्त कार्यका लागि २ लोडर १ स्काबेटरको प्रयोग गरिएको सुपर भाइजर क्षेत्रीले बताए। पहिरोले सडकमा सवारी जाम भएकोले पोखरा जने सवारी पनि प्रभावित बनेको छ।
सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।
सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

नेपालमाला
