काठमाडौं : भक्तपुरको तत्कालीन बालकोट गाविसका प्रधानपञ्च तथा समाजसेवी शेरबहादुर खड्काको स्मृति ग्रन्थ ‘विकासका सारथी शेरबहादुर खड्का’ पुस्तक विमोचन गरिएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले विमोचन गरेकी हुन् ।
२०२८ सालदेखि २०४३ सालसम्म लगातार १५ वर्ष बालकोट गाविसको प्रधानपञ्च हुँदा शेरबहादुर खड्काले त्यहाँको विकास निर्माण र समाज परिवर्तनमा पु¥याएको योगदानसँगै प्रतिष्ठानले स्थापनादेखि अहिलेसम्म गरेका गतिविधिलाई साङ्गोपाङ्गो रुपमा पुस्तकमा समेटिएको छ । पुस्तक विमोचन गर्दै उपप्रमुख तिम्सिनाले बालकोटलाई अहिलेको समृद्ध सहर बनाउन शेरबहादुर खड्काले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताइन् । ८४ पृष्ठको पुस्तकको सम्पादन पत्रकार विष्णु थापाले गरेका हुन् ।
यसैगरी प्रतिष्ठानले आयोजना गरेको ‘स्वच्छ र स्वस्थ वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगितामा नवरत्न इङ्लिस स्कुलकी प्रकृति मानन्धर पहिलो भएकी छन् । भक्तपुर जिल्लास्तरीय प्रतियोगितामा नोवेल स्कुलका सविन घिमिरे दोस्रो र सुप्रिम एकेडेमीका युनिसा कार्की तेस्रो भए । यस्तै नवरत्न स्कुलकी सारिका श्रेष्ठ र अरनिको माविकी पल्लवी पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा जिल्लाका ३५ विद्यालयका छात्र छात्राको सहभागिता रहेको थियो । विजेतालाई सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालगायतले पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले निर्माण गरेको वेब पोर्टल शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले वेब पोर्टल शुभारम्भ गरेका हुन् । पोर्टलमा विभिन्न रोगका बारेमा जानकारी दिनुका साथै रोथामका उपाय र उपचार पद्धतीका बारेमा सम्पूर्ण जानकारी दिइएको छ । यस्तै घरमा गर्न सकिने शारीरिक व्यायाम, स्वास्थ्य सम्बन्धी जानकारी समेटिएको ब्लग, सातै प्रदेशमा रहेका अस्पताल र तिनले प्रवाह गर्ने सेवाका बारेमा जानकारी समावेश गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै वेब पोर्टल सञ्चालन गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।