काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।
अहिले कांग्रेसका नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजे सम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछी पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछी आइतबारै उनको दाहसंस्कार गरिने छ ।
को हुन् प्रदीप गिरि ?
गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो । लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेपनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए ।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए । पटक पटक सांसद बनेका गिरी मन्त्री भने बनेनन्, मन्त्री बन्न लालायित भएनन् ।
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।


नेपालमाला
