काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठान जन सेवाश्री पदकबाट विभूषित भएको छ । नेपाली खेलकुद क्षेत्र विशेषगरी नेपालको राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारका साथै सामाजिक क्रियाकलापमा पु¥याएको योगदानको उच्च कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रतिष्ठानलाई ‘जन सेवाश्री पञ्चम’बाट विभूषित गर्नुभएको हो ।
बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा प्रतिष्ठानकी संरक्षक गमली खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सीता खड्कालगायत प्रतिष्ठानका पदाधिकारी र परिवारजनको उपस्थिति रहेको थियो ।
संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकुदको विकास र विस्तार एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै प्रतिष्ठानलाई ‘जन सेवाश्री पञ्चम’बाट विभूषित गर्ने निर्णय गर्नुभएको थियो ।
सामाजिक क्रियाकलापका साथसाथै खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याउने उद्देश्यले वि.सं. २०७० असोज १६ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठान दर्ता भएको हो । प्रतिष्ठानले खेलकुदका साथै सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्रतिष्ठानले महिला खेलाडीको क्षमतावृद्धि गर्ने उद्देश्यले २०७२ सालबाट हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता प्रतिष्ठानको मुख्य कार्यक्रम हो ।
प्रतिष्ठानले भलिबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई खेलाडीको बीमा, हरेक खेलमा एक खेलाडीलाई नगद पुरस्कारसहितको प्लेयर अफ दी म्याचको ब्यवस्था, प्रतियोगिता सुरु हुनु एकदिन अघि टेक्निकल मिटिङ, प्रतियोगता सम्पन्न भएको दिन खेलाडीलाई रात्री भोजजस्ता अन्तर्राष्ट्रिय प्रचलनलाई अवलम्वन गरिरहेको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले राष्ट्रिय भलिबल प्रतियोगिताका साथै वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्ड कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ । यसैगरी सामाजिक कामअन्तर्गत जेष्ठ नागरिकको सम्मान, विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, क्लब, रेडक्रस, विद्यालयलाई सहयोगजस्ता कामलाई पनि निरन्तर रुपमा अगाडि बढाइरहेको छ ।
तत्कालीन बालकोट गाउँ पञ्चायतमा लगातार १५ वर्ष प्रधानपञ्च हुँदै नेपाल किसान संगठनको भक्तपुर जिल्ला अध्यक्ष समेत भएर बालकोटको पुलपुलेसा, बाटोघाटो, विद्यालय, बिजुली, खानेपानीलगायतका विकासको पूर्वाधार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शेरबहादुर खड्काको स्मृतिमा उहाँको परिवारले खेलकुद र समाजसेवालाई अगाडि बढाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरेको हो । स्वर्गीय खड्काकी धर्मपत्नी गमली खड्का प्रतिष्ठानको संरक्षक हुनुहुन्छ भने उहाँको सुपुत्र रञ्जन खड्काले अध्यक्षको भूमिकामा रहेर विभिन्न कार्यक्रम गर्दै आउनु भएको छ ।