जनकपुरधाम : बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।
उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो । जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।
कुर्थादेखि जयनगरसम्मका लागि जनरल बगीको ९० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै एक स्टेसनबाट अर्को स्टेसनसम्मका लागि जनरल बगीका लागि २० रुपैयाँ एसी बगीमा १ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ।
गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) दैनिक एक पटक सञ्चालनमा आइरहेको थियो। नेपालको इनर्वादेखि कुुर्थासम्म गरी नेपाल रेलको सुरक्षामा १ सय ३६ जना प्रहरी खटाइएको छ। ठाउँठाउँमा रहेको कुल २२ वटा लेवल ट्रयाक क्रसमा रेल्वे गुड्ने समयमा आवतजावत बन्द गराउनका लागि २२ जना कर्मचारी खटाइएको महाप्रबन्धक झाले बताए। कुल ८ वटा स्टेसनमध्ये ७ वटामा टिकेटिङको व्यवस्था गरिसकिएको छ। परवाहा स्टेसनस्थित भवन निर्माणकार्य हाल जारी नै रहेको छ। भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत् दुवैबाट चल्ने यो दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनी कोकर्णको दाबी छ।
डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन्। प्रतिघण्टा ११० किलोमिटरको स्पिडमा चल्न सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रु सवार हुन सक्नेछन्। एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बगीमा ७० वटा सिट रहेको छ। २० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र ४ वटा जनरल बगी छ। यो रेलले प्रतिकिलोमिटर दुई लिटर डिजेलको एभरेज दिनेछ। प्रत्येक बगीमा शौचालयको व्यवस्था गरिएको छ यसका साथै एसी बगीबाहेक अन्य जेनरेल बगीमा ठाउँठाउँमा पंखासमेत लगाइएको छ।
१९९४ मा ब्रिटिस कम्पनी सरकारले नेपालको जंगलबाट काठ ओसार्न लाइन विस्तार गरेको थियो। त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो। पछि भारत सरकारले १८ वटा बगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो। २०५१ सालदेखि स्टिम इन्जिन युक्त रेल सञ्चालनमा आएको थियो। २०६१ माघदेखि रेल बन्द थियो। रेल्वे अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भइरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी भइसकेको छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ।