धरान : गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत प्रदेश १ का खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिताबाट सात पुरुष र चार महिला खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाका खेलाडीले दबदबा राखेका छन् । प्रदेश १ बाट ११ खेलाडी छनोट भएकामा झापाका १० खेलाडी छन् ।
प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा झापाका धमेन्द्र राई, ५७ केजीमा झापाकै भूगोल लिम्बू, ६३ केजीमा झापाकै टोविन प्रधान, ६९ केजीमा झापाकै अभिनय राई, ७५ केजीमा सुनसरीका सनम गुरुङ, ८१ केजीमा झापाका प्रसंग लिम्बू र ९१ केजीमुनिको तौल समूहमा झापाकै प्रसिस रुचाल वैशाख ६ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
यसैगरी महिलाको ५२ केजी तौल समूहमा झापाकी सुस्मिता श्रेष्ठ, ५७ केजीमा झापाकै सुस्मिता राई, ६० केजीमा झापाकै नरिका राई र ७५ केजी तौल समूहमा झापाकै तृष्णा लिम्बू राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका प्रदेश नं १ सयोजक अभिषेक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेता खेलाडीलाई धरान उपमहानगपालिकाका प्रमुख तिलक राई, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका प्रदेश नं १ सयोजक अभिषेक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा राष्ट्रिय प्रतियोगिता हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।