काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ ।
पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ । किनकि यही खेलबाट नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियमा ५० खेलको कोशेढुंगा पूरा गर्नेछ ।
सन् २०१४ मा बंगलादेशमा आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले त्यही पहिलो टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको थियो । विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीनवटै खेलले टीट्वेन्टी मान्यता पाएको थियो ।
नेपालले हङकङसँग त्यो ऐतिहासिक टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलेको थियो र त्यसमा जित हात पारेको थियो । चटगाउँमा भएको उक्त खेल नेपालले ८० रनले जितेको थियो । खेलमा शक्ति गौचन म्यान अफ दी म्याच भएका थिए ।
बंगलादेशबाट सुरु भएको टीट्वेन्टी अन्तर्राष्ट्रिय यात्रामा नेपालले आयरल्यान्ड यूएई, लर्ड्स, ओमानलगायत ठाउँ पुगिसकेको छ । अहिले संयोग कस्तो जुरेको छ भने नेपालले ऐतिहासिक ५० औं खेल घरेलु मैदानमा खेल्दैछ ।
नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार बेहोर्दा एक खेल नतिजा विहीन बनेको थियो । नेपालको जित प्रतिशत ५६.२५ रहेको छ ।
नेपालको लागि टीट्वेन्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । उनले ३६ खेलमा ३१ पालि ब्याटिङ गर्दै तीन अर्धशतकको मद्दतमा ८०३ रन बनाएका छन् । यस्तै कप्तान सन्दीप लामिछानेले ३५ खेल खेल्दै सर्वाधिक ६७ विकेट लिएका छन् । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
अहिलेसम्म १६ राष्ट्रले ५० वा त्योभन्दा धेरै टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । सबैभन्दा धेरै टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल्ने टोली पाकिस्तान हो । पाकिस्तानले १८९ खेल खेलेको छ ।
नेपालको नजर फाइनलतर्फ
लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टीट्वेन्टी श्रृंखलामा एक्लो अपराजित टोली हो । नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ भने मलेसियालाई पनि पराजित गरेको छ ।
एकदिवसीय श्रृंखलामा नेपाललाई दुवै खेलमा हराएको पीएनजी टीट्वेन्टी श्रृखंलामा भने लगातार दुई खेलमा पराजित भइसकेको छ । पीएनजीविरुद्ध मैदान उत्रँदा नेपालको नजर फाइनलतर्फ हुनेछ । नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपालविरुद्धको खेल जित्नैपर्छ ।
यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको नेपाल लगातार तेस्रो खेल जित्ने योजनामा छ ।
बुधबार मलेसियालाई हराएपछि नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जितेर फाइनल पुग्ने र श्रृंखला नै जित्ने रहेको बताएका थिए । ‘पीएनजीसँगको खेलका लागि योजना बनाउनेछौं । हामी सबैजना शृंखला जित्ने लक्ष्यमा छौं । चार खेल जित्दै फालाईनल पनि जित्ने लक्ष्य छ,’ सन्दीपले भनेका थिए, ‘अझै फाइनल पुगेको छैन । फाइनल पुग्न एक खेल जित्नैपर्छ ।’
नेपालसँग पहिलो खेलमा पराजित भएको पीएनजीमाथि मलेसियाले ८ रनको ऐतिहासिक जित हात पारेको थियो । त्यसैले नेपालसँग खेल्दा पीएनजी केही दबाबमा हुनेछ ।
नेपाल र पीएनजीबीच यसअघि दुई वटा मात्र टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएको थियो जसमा दुवैले एक(एक खेल जितेका छन् । सन् २०१५ मा आयरल्याण्डमा भएको टीट्वेन्टी विश्वकप छनोटमा पीएनजीले नेपाललाई हराएको थियो । त्यसको बदला नेपालले त्रिवि क्रिकेट मैदानमा लिइसकेको छ ।