दुबई : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।
चेन्नईले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि प्रारम्भिक ब्याट्सम्यान शुबमन गिल र वेङ्कटेस ऐयरले अर्धशतकीय पालि खेले पनि टोलीलाई उपाधि दिलाउन सकेनन् । गिलले ५१ र ऐयरले ५० रनको पालि खेले । यस्तै शिभम् मावीले २० र लोकी फर्गुसनले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोलाकाताका दिनेश कार्तिकले नौ, कप्तान इयोन मोर्गनले चार, राहुल त्रिपाठीले दुई, सुनील नारिनले दुई रन जोड्दा नितिश राना र सकिब अल हसन सून्य रनमा आउट भए ।
चेन्नईका सार्दुल ठाकुरले तीन विकेट लिए । यस्तै रवीन्द्र जडेजा र जोस हेजलउडले दुई÷दुई तथा दीपक चहर र ड्वान ब्राभोले एक÷एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ८६ रनको अर्धशतकीय पालि खेले । पालिको ओपनिङ गरेका डु प्लेसिसले ५९ बलमा तीन छक्का र सात चौका हिर्काए । यस्तै मोइन अलीले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रनको योगदान दिए । कोलकाताका सुनील नारिनले दुई तथा शिबम् माभीले एक विकेट लिए ।
यससँगै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जित्न सफल सफल भएको छ । कोलकाताको भने तेस्रो पटक उपाधि जित्ने सपना अधुरो बनेको छ । चौथो पटक उपाधि विजेता चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाएका छन् ।
यसअघि चेन्नईले सन् २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । सन् २०११ मा चेन्नईले बेंग्लोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई आठ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई सन् २००८, २०१२, २०१३, २०१५ र सन् २०१९ मा उपविजेता बनेको थियो ।
लिगमा दोस्रो स्थानमा रहँदै चेन्नईले क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो । एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंग्लोरलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा दिल्लीलाई तीन विकेटले पराजित गर्दै कोलकताले तेस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।
Previous Article

नेपालमाला
