ओमानसँग हा¥यो नेपाल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल पराजित भएको छ । मंगलबार अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमा पूरा गरेको हो । ओमानको जितमा प्रारम्भिक ब्याट्सम्यान जतिन्दर सिंहले शतकीय पालि खेले । उनले ६२ बलमा ६ छक्का र १२ चौकाको सहयोगमा एक सय सात रन बनाए । यस्तै मोहमद नदीमले अविजित ३८, सुरज कुमारले २० र आर्यन खानले १८ रन बनाए । नेपालका करण केसी र कुशल मल्लले दुई÷दुई विकेट लिए । यस्तै सुशन भारीले एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा अलआउट हुँदै एक सय ९६ रनमा समेटिएको थियो । मिडल अर्डरमा लगातार विकेट गुमाउँदा नेपाल एक सय ९६ रनमै समेटिएको थियो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ९० रनको अर्धशतकीय पालि खेलेका थिए । आसिफले एक सय १२ बलमा एक छक्का र सात चौका हिर्काए ।
यसैगरी कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१ रन बनाए । यस्तै रोहितकुमार पौडेलले २०, सन्दीप लामिछानेले १६, सोमपाल कामीले सात र विनोद भण्डारीले ६ रन बनाए । सोमबार अमेरिकाविरुद्धको खेलमा ८४ रनको आक्रामक पालि खेलेका कुशल भुर्तेल शून्य रनमै पेभेलियन फर्किएका थिए । नेपाललाई कम योगफलमा रोक्न ओमानका बिलाल खानले चार विकेट लिए । यस्तै नेस्टोर धाम्बाले दुई जिसान मक्सुद र मोहमद नदीमले एक÷एक विकेट हात पारे । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । नेपाल दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा १८ रनले पराजय बेहोरेको नेपाल दोस्रो खेलमा आठ विकेटले स्तब्ध बनेको थियो ।
लिगमा नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । ओमान ११ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा रहँदा १३ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । नेपालले शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो अन्तिम खेलमा आइतबार ओमानको सामना गर्नेछ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । युवा लेग स्पिनर सन्दीप लामिछानेको प्रभावशाली प्रदर्शनमा नेपालले दुवै खेलमा जित निकालेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments