काठमाडौं : बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हो ।
नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिति राईले एक÷एक गोल गरे । बंगलादेशकी तोहुरा खातुनले सान्त्वना गोल फर्काइन् ।
खेलको १४औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले विमला चौधरीको क्रसमा उत्कृष्ट गोल गरेकी थिइन् । खेलको २३औं मिनेटमा सरु लिम्बूको पासमा प्रितिले डिबक्स बाहिरबाट गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन् । खेलको ८४औं मिनेटमा बंगलादेशकी खातुनले गोल गर्दै अन्तर कम गरेकी थिइन् ।
सविता र प्रितिले यसै खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । सविता र प्रिति उमेर समूह हुँदै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रितिलाई पहिलो रोजाईमै मैदान उतारेका थिए ।
यसैगरी सिर्जना सिंह र रश्मीकुमारी घिसिङले पनि बिहीबार बंगलादेशविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सिर्जना ८२औं मिनेटमा हीराकुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी हुन् । उनी घरेलु फुटबल सशस्त्र प्रहरीको एपीएफ क्लबबाट खेल्छिन् । यसैगरी रश्मीकुमारी ८५औं मिनेटमा मञ्जली योञ्जनको स्थानमा मैदान प्रवेश गरेकी हुन् । बिहीबारको खेलको मोस्ट भ्यालुएबल खेलाडी नेपालकी प्रिति राई घोषित भइन् ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । बल प्रोसेसनमा पक्कड जमाए पनि लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेलेका कारण खेलाडी आत्तिएको बताए । ‘मैदान भिजेका कारण खेलाडीले खुलेर खेल्न सकेनन् । हामीले बलमाथि पक्कड जमाए पनि लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेल्दा खेलाडी अत्तालिए’, मुख्य प्रशिक्षक फिलिप्सले भने, ‘हामीले जित आत्मसाथ गरेका छौं । खेलाडीको प्रदर्शनबाट खुसी छु ।’
बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले खेल निकै प्रतिस्पर्धात्मक भए पनि पहिलो हाफमा गरेका दुई वटा गल्तीका कारण हार खेप्नु परेको बताए । ‘घरेलु टोलीसँग हामीले राम्रो खेल खेलेका हौं । लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेल्दा खेलाडीहरुबीच तालमेलको कमी भयो । पहिलो हाफमा गरेका दुई वटा गल्तीका कारण हार खेप्न बाध्य भयौं’, उनले भने, ‘अर्को खेलमा सुधारिएको प्रदर्शन गर्ने छौं ।’
उज्वेकिस्तानमा असोज पहिलो साताबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलअन्तर्गत बिहीबार पहिलो खेल खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।
एएफसी महिला एसियन कप छनोट उज्वेकिस्तानमा आयोजना हुँदैछ । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल असोज ५ मा हुनेछ । फिलिपिन्स र हङकङबीचको खेल असोज ८ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप सन् २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।
Previous Article
पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत
Next Article

नेपालमाला
