काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल एटेमी क्योकुसिन कराते संघले बधाइ ज्ञापन गरेको छ । सोमबार बिहान संघका पदाधिकारीले कुलमान घिसिङको निवासमै पुगेर उनलाई बधाइ दिएका हुन् ।
नेपाल एटेमी क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापा, उपाध्यक्ष सागर गुरुङलगायतका पदाधिकारीले कुलमान घिसिङलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो देशका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई संघले बधाइ ज्ञापन गरेको हो। भदौ २०७३ मा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालीलाग्दो लोडसेडिङ अन्त्य गरेका थिए। उनी कार्यकारी निर्देशक नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल भएका थिए ।

उनले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका थिए । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सब–स्टेसनको स्तरोन्नति तथा सुदृढीकरणलगायत कामलाई अभियानकै रूपमा सञ्चालन गरेका थिए । घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी गत भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।
नेपाललाई लोसेडिङ मुक्त गराउन अहंम भूमिका खेलेका घिसिङलाई सरकारले गत बुधबार पुनः कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

नेपालमाला
