हिटबाटै बाहिरिन गौरिका

काठमाडौं : टोकियो ओलम्पिकमा निकै आशा गरिएकी जलपरी गौरिका सिंह पनि हिट चरणबाटै बाहिरिएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबार भएको पौडीको महिला एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि गौरिका हिट चरणबाटै बाहिरिएकी हुन् ।
हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान भने बनाएकी छन् । पहिलो हिटमा प्रतिस्पर्धा गरेकी गौरिका तेस्रो स्थानमा आएकी थिइन् । हिट चरणमा गौरिकाले नाइजेरियाकी अबिओला ओगुनबान्वो, मोन्टेनेग्रोकी एन्डेला एन्टुनोभिक र गुवामकी मिनेरी कुरोटोरी गोमेजसँग प्रतिस्पर्धा गरेकी थिइन् । उनले गुवामकी गोमेजलाई मात्र पछाडि पारेकी थिइन् । यस स्पर्धामा प्रतिस्पर्धा गरेका ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन् ।
गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा भने सुधार गरिन् । यसअघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा उक्त राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
१८ वर्षीया गौरिकाको यो दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा पनि उनले प्रतिस्पर्धा गरेकी थिइन् । त्यसबेला उनले कान्छी खेलाडीका रुपमा संसारभर चर्चा बटुलेकी थिइन् ।
राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा गौरिकाले खुसी व्यक्त गरेकी छन् । उनले राम्रो प्रदर्शन गर्ने लक्ष्य मात्रै राखेकोमा राष्ट्रिय कीर्तिमानमा सुधार गर्न सकेकोमा खुसी व्यक्त गरेकी हुन् । ‘राष्ट्रिय कीर्तिमान बनाउन पाउँदा निकै खुसी लागेको छ । मैले राष्ट्रिय कीर्तिमान नै बनाउँछु भनेर खेलेको थिइनँ’, उनले भनिन्, ‘सकेसम्म राम्रो गर्छु भन्ने मात्रै थियो । कोरोनाका कारण धेरै समय प्रशिक्षण गर्न नपाउँदा पनि राम्रो प्रदर्शन गर्न सकें ।’
गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती पनि सकिएको छ । मंगलबार भएको पुरुष एक सय मिटर फ्रिस्टाइलमा एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए । उनले पुरुष एक सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा ५३.४१ सेकेन्डको समय निकाल्दै एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यसअघि एलेक्सको नाममा ५६.२८ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा उक्त राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । नेपालबाट टोकियो ओलम्पिकमा सहभागी दुई खेलाडीले भने प्रतिस्पर्धा गरिसकेका छन् । जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूह र सुटिङकी कल्पना परियार १० मिटर एयर राइफलको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका थिए । टोकियो ओलम्पिकमा कल्पनाले भने राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । कल्पनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् । उनले नेपालमा भएको १३औं सागमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments