काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाउने भएका हुन् ।
टिएर फाइभ भिसामा बेलायत पुगेका सन्दीपले त्यो भिसामा द हन्ड्रेड खेल्न नपाउने भएका हुन् । द हन्ड्रेड खेल्न नपाउने भएपछि उनी एक÷दुई दिनमै नेपाल फर्किने सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । ‘भिसाको समस्याका कारण सन्दीपले द हन्ड्रेड खेल्न नपाउने भएका छन्’, रमणले भने, ‘सन्दीप अब एक÷दुई दिनमै नेपाल फर्कने छन् । टिकटलगायतका कामहरु भइरहेको छ ।’
एक सय बलको प्रतियोगितामा सहभागी हुन सन्दीप गत असार २५ गते बेलायत पुगेका थिए । त्यहाँ पुगेर उनी बेलायती सरकारद्वारा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेका थिए । उनको क्वारेन्टाइनको अवधि मंगलबार सकिँदै थियो । आइतबार इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले द हन्ड्रेडका लागि भिसा मान्य नभएको भन्दै सन्दीपलाई बेलायत छाड्न निर्देशन दिएको हो । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स लेख्दै यसको पुष्टि गरेका हुन् ।
सन्दीपका व्यवस्थापक सिवाकोटीले भाइटालिटी टीट्वेन्टी ब्लास्ट र द हन्ड्रेडका लागि टिएर फाइभ भिसा अप्लाई गर्न भने पनि अहिले किन त्यो भिसाले मान्यता पाएन भनेर आधिकारिक रुपमा कसैले पनि जानकारी नदिएको बताए । ‘उनीहरुकै निर्देशन बमोजिम हामीले टिएर फाइभ भिसा अप्लाई गरेका हौं । भाइटालिटी टीट्वेन्टी ब्लास्ट र द हन्ड्रेडका लागि एउटै भिसा मान्य हुने भनिएको पनि थियो’, सिवाकोटीले भने, ‘अहिले के कारणले त्यो भिसालाई मान्यता नदिएको हो थाहा भएन ।’
भिसा ढिलो आएका कारण सन्दीपले यसअघि भाइटालिटी टीट्वेन्टी ब्लास्ट क्रिकेट पनि गुमाएका थिए । भाइटालिटी ब्लास्टमा सन्दीप वोर्सेस्टरसायर ¥यापिड्समा अनुबन्धित भएका थिए ।
टिएर फाइभ बेलायत सरकारले सीमित समयका लागि दिने वर्किङ भिसा हो । सरकारबाट मान्यता प्राप्त कार्यक्रमहरुमा सहभागी भएर सीमित अवधिका लागि काम गर्नेहरुले यो भिसा पाउने गरेका छन् ।
सन्दीपले बेलायत पुगेर पनि प्रतियोगिता गुमाउनु पर्दा निकै दुःख लागेको बताएका छन् । ‘म ओभल इन्भिन्सिबलबाट खेल्न निकै उत्सुक थिएँ । निकै प्रतीक्षाका साथ हेरिएको प्रतियोगिता गुमाउनु पर्दा अत्यन्त मर्माहित बनेको छु’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।
ओभल इन्भिन्सिबल टोलीका खेलाडी साम बिलिङ्सले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै कोरोना भाइरसका कारण थुप्रै देशका खेलाडीले समस्या भोग्दै आएको बताउँदै अहिले नै केही भनिहाल्न सक्ने अवस्था नरहेको बताएका छन् । ‘सन्दीपलगायतका खेलाडीको विषयमा के हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । कोरोनाका कारण लगाइएको प्रतिबन्धले थुप्रै देशका खेलाडी समस्यामा परेका छन् । सन्दीपका विषयमा पनि चाँडै हल हुने विश्वास गरेका छौं’, बिलिङ्सले भनेका छन् ।
क्रिकइन्फोका अनुसार सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताबरेज साम्सीले खेल्ने सम्भावना रहेको जनाएको छ । बिहीबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा ओभल इन्भिन्सिबलले म्यानचेस्टर ओरिजिनल्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालमाला
