सरकारको प्राथमिकता खोप : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो र मुख्य प्राथमिकता खोप मात्रै रहेको बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमकिता पनि खोप र तेस्रो प्राथमिकता खोप नै हो’, उनले भने, ‘अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण हो ।’
प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्तुष्टि जनाए । उनले ओली संसद आएको भए आफूलाई खुसी लाग्ने बताए । देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै कसैले पनि एक्लै जस नलिन नहुने बताए । प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए । ‘मधेसको मुद्दामा छलफल गर्न म तयार छु । उनीहरुलाई कसरी अधिकार प्रत्यारोपन गर्ने भन्ने विषयमा सबैसँग छलफल गरेर अघि बढौं’, उनले भने ।
उनले सबैको त्याग, तपस्या र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । ‘नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments