साउन महिमा : यसकारण धार्मिक दृष्टिले सर्वोत्तम र पवित्र मानिन्छ

काठमाडौं : शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।

साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् ।

सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा छ ।

साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ । विशेष गरी साउने सोमबारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा  सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । साथै सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमान्को दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबार व्रत बस्दा विद्या, व्यापार एवम् खेतीपाती सप्रने विश्वास गरिन्छ ।

सात्विक महिना

खानपानमा होस् वा पहिरनमा, साउन महिनाले बेग्लै स्वाद र रंग पस्कन्छ । यतिबेला धेरैले माछा–मासु, मदिराजन्य खानपान गर्दैनन् । मन्दिर धाउने, पूजाआजा गर्ने, गेरु बस्त्र धारण गर्ने, ‘ओम नमः शिवया’ जप्ने यहि महिनामा हो ।

साउनमा गेरु बस्त्र धारण गरेर ‘बोलबम’ अलाप्दै हिँड्नेहरुको लस्कर देखिन्छ । यसको प्रारम्भ साउनको पहिलो सोमबारबाट हुन्छ । पछिल्लो समय बोलबमको लहड समेत चलेको छ, युवापुस्तामा ।

बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । यसरी शिवको मन्त्र उच्चारण गर्नुको पनि फाइदा छ भनिन्छ । जब हामी मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ ।

बोलबमले सात्विक जीवनशैलीतर्फ डोहो¥याउँछ । बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पु¥याइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ ।

बोलबम को सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रित छ । पानीको अभावमा सृष्टि संभव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक पनि मानिन्छ । के पनि भनिन्छ भने, अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश दिइएको हो यो ।

यसलाई यौनसँग पनि जोडेर व्याख्या गरिएको छ । यसबेला मानिसमा कामवासना बढ्छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने संकेतको रुपमा पनि शिवलिंगमा पानी चढाइएको मानिन्छ । यो भनाईलाई साउनमा महिलाहरुले हातभरी लगाउने चुरा र मेहेन्दीसँग पनि जोडिन्छ । साउन महिनाभर चुरा लगाउनुको कारण पुरुष एवं पतिमा बढ्दो कामवासना नियन्त्रण गर्नु हो भन्ने गरिएको छ ।

तर, धार्मिक कथन अलि फरक छ । धार्मिक कथन अनुसार विषपानका कारण शिव भगवानको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए ।

त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे ।

साउनको रंग

सर्वत्र हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम पनि हो यो । प्रकृतिको यहि सप्तरंगी पृष्टभूमीसँग मिल्नेगरी महिलाहरु रंगीचंगी फेसनमा सजिने गर्छन् । साउनको फेसनमा हरियो, रातो र पहेंलो रंगको कम्बिनेसन मिलाइन्छ । चाहे साडी, कुर्तामा होस् वा चुरामा, यी तीन रंगको संयोजन हुन्छ ।

साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ । हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ ।

चुरा, पोते, मेहेन्दी लगाउनुको सामाजिक महत्व पनि छ । खासगरी अन्नवाली लगाइसकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुटै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेन्दीको औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, चोटपटक पनि निको हुने बताइन्छ ।

साउनको खानपान

यो वर्षको मौसम पनि हो । यतिवेला हाम्रो पाचन यन्त्र कमजोर हुन्छ भनिन्छ । त्यसैले मासुजन्य एवं मसलेदार खानेकुरा सजिलै पच्दैन । त्यस्ता खानेकुरामा संक्रमणको भय पनि रहन्छ । त्यही कारण यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।

शिव स्वरुपको अर्थ

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला ?

शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments