काठमाडौं : नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल र भारतलाई कोरोनाको जोखिमपूर्ण राष्ट्रमा राख्दै सहभागी नगराउने निर्णय गरेपछि नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्जित भएको हो ।
नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै एभीसीले खेल तालिकासमेत सार्वजनिक गरेको छ । एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।
यस अघि नेपाल र भारतलाई कोरोनाको ‘रेड जोन’ मा राखिएको थियो । भारतले पनि प्रतियोगितामा सहभागी हुन पाएन । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो । बन्द प्रशिक्षणमा १८ खेलाडी रहेका थिए । नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा दाबी प्रस्तुत गर्दै प्रतियोगिता खेल्ने तयारी गरेको थियो । नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षण समेत सुरु गरेको थियो ।
प्रतियोगिताको तयारी र सहभागीता सुनिश्चित गर्दै राखेपले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, अन्तिम समयमा आएर नेपालले प्रतियोगिता नखेल्ने भएको हो ।
संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो । संघले दोस्रो चरणमा नौ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारी तीव्र बनाएको थियो ।
दोस्रो चरणमा मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी र सलिना श्रेष्ठ छानिएका थिए ।
नेपालको महिला भलिबल टिमले २०७६ सालमा एभीसी सेन्ट्रल जोनमा स्वर्ण र १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक रजत पदक जितेपछि महिला भलिबलले थप उचाई प्राप्त गरेको थियो ।

Previous Article
साउन महिमा : यसकारण धार्मिक दृष्टिले सर्वोत्तम र पवित्र मानिन्छ
Next Article