काठमाडौं : नेपाल ओलम्पिक कमिटि (एनओसी)लाई स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीले प्रायोजन गरेको छ ।एनओसीले शुक्रबार केल्मीसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै केल्मीले एनओसीलाई २० लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीको पोशाकका लागि एनओसीले केल्मीसँग सम्झौता गरेको हो । अब टोकियो ओलम्पिकमा नेपाली टोलीले केल्मीको खेल पोशाक प्रयोग गर्ने छन् । नेपालबाट अहिलेसम्म पाँच खेलाडीले टोकियो ओलम्पिक खेल्ने तय भइसकेको छ ।
सम्झौतापछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र निजी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिदै केल्मीसँगको सम्झौता दीर्घकालिन हुने विश्वास व्यक्त गरे । यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले कामरुसँगको अनुबन्ध सुरुआत मात्र रहेको बताए ।
कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोशाक प्रायोजन गर्न पाएकोमा खुसी भएको बताए ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालमाला
