काठमाडौं : १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन्। शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाराजगञ्जमा छलफल भएको छ।
कांग्रेसका संस्थापक वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र तीनै जनाले सभापति आकांक्षा राखेका छन्। सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन्।
नेताहरुबीच समसामयिक राजनीतिक र आसन्न महाधिवेशनमा कसरी जाने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको प्रकाशमान सिंहका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए। उनकाअनुसार आजको छलफल सकारात्मक रहेको छ।
यस अगाडि पनि सोमबार कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको थियो। उपसभापति निधिले नेताहरुलाई निवासमै बोलाएका थिए। उनले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। कांग्रेसका संस्थापक वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र तीनै जनाले सभापति आकांक्षा राखेका छन्।
उपसभापति निधि सभापति देउवाका विश्वासिला पात्र हुन्। गुटमा मात्र नभई कांग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा निधि चिनिन्छन्। विद्यार्थी राजनीतिदेखि निधिले देउवालाई बलियो साथ दिँदै आएका छन्। १३ औं महाधिवेशनमै देउवाले अर्को पटक निधिलाई सभापतिमा सहयोग गर्ने वचन दिएको कतिपय कांग्रेस नेता बताउँछन्। तर देउवाले सभापतिमै दोहोरिने चाहना राखेपछि पार्टीको नेतृत्व गर्ने निधिको चाहनामा चुनौती थपिएको छ। निधि महाधिवेशनसम्मै आफ्नो तयारीलाई अगाडि बढाउने र संस्थापनभित्रै आफ्नो पक्षमा माहोल बढाउँदै लैजाने पक्षमा छन्। सभापतिमा दोहोरिने देउवाको इच्छा बुझेका निधी दबाब बढाउँदै लैजाने रणनीतिमा छन्।
महामन्त्री डा. कोइरालाले पनि सभापति पदका लागि सक्रियता व्यापक बनाएका छन्। कोइरालाले सभापति देउवालाई आफूले मात्रै पराजित गर्न सक्ने दाबी गर्दै आएका छन्। कांग्रेसभित्र रहेको गुटको राजनीति अन्त्य गर्न पनि आफू सभापति बन्न खोजेको दाबी उनले गरेका छन्।
सभापति पदका अर्का आकांक्षी पूर्वउपसभापति सिंह पनि हुन्। संसदीय दलको उपनेता भइसकेका सिंहले दलका नेतामा देउवासँग प्रतिस्पर्धा गरेका थिए। तीनै जना एकै ठाउँमा बसेर पटक-पटक छलफलमा जुटेपछि कांग्रेसमा अहिले नयाँ तरंग आएको छ।
देउवाले पनि प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरिसकेका छन्। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म निर्धारित छ। कोरोनाका कारण हुने/नहुनेमा भने अधिकांश नेता नै सशंकित छन्। सभापतिका लागि यसपाली देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले रुचि देखाएका छन्।

नेपालमाला
