रियो दी जेनेरियो : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा पुनरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले घरेलु मैदानमा कोलम्बियालाई २–१ गोलले हरायो ।
एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्बियालाई २–१ गोलले पराजित गर्दै पुनरागमन जित निकालेको हो । समूहमा ब्राजिलको लगातार तेस्रो जित हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रा १० खेलसम्म लम्ब्याएको छ । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता ब्राजिल अपराजित छ । ब्राजिलले सबै १० खेलमा जित हात पारेको छ ।
रियो दी जेनेरियोस्थित निल्टन सान्तोस स्टेडियममा बिहीबार बिहान भएको खेलमा लुइस डियाजको गोलबाट कोलम्बियाले १–० को अग्रता लिएको थियो । जुआन कोर्डाडोको क्रसमा डियासले गोल गरेका थिए । एक गोलले पछि परेको ब्राजिलले त्यसपछि बल नियन्त्रणमा राख्दै कोलम्बियामाथि लगातार दबाब बढाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा लगातार आक्रमण बुने पनि गोलका लागि ७८औं मिनेटसम्म कुर्नुपरेको थियो । रोबर्टो फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । रेनान लोडीको क्रसमा फिर्मिनोले हेड गोल गरेका थिए । त्यसपछि इन्जुरी समयमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाए । नेमारले कर्नरमा उपलब्ध गराएको पासमा अनमार्क रहेका क्यासेमिरोले सुन्दर हेड गोल गरेका थिए । यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको ब्राजिलले तीन खेलबाट नौ अंक जोडेर शीर्षस्थानमा छ । कोलम्बिया चार अंक जोड्दै दोस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इक्वेडरले २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । २२औं मिनेटमा रेनाटो तापियाको आत्मघाती गोलबाट अघि बढेको इक्वेडरले पहिलो हाफको इन्जुरी समयमा इडुवार प्रेसिडोको गोलबाट अग्रता दोब्बर पारेको थियो ।
दोस्रो हाफको सुरुवातमै पेरुले बराबरी गोल फर्काएको थियो । ४९औं मिनेटमा जियानलुका लापादुलाको गोलबाट खेलमा फर्किएको पेरुले ५४औं मिनेटमा आन्द्रे कारिल्लोको गोलबाट खेललाई २–२ गोलको बराबरी गरेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यो बराबरीपछि समूह ‘बी’ मा रहेको पेरुले तीन खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा रहँदा इक्वेडर तीन खेलबाट दुई अंक जोडेर चौथो स्थानमा छ । समान दुई अंक भएपनि भेनेजुएला गोल अन्तरमा पुछारमा छ ।
Previous Article

नेपालमाला
