सेभिल : स्पेन समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदान सेभिलमा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० गोलले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहमा स्विडेन समूह विजेता बन्यो ।
स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट, पाब्लो सराबिया र फेरान टोरेसले एक÷एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती रुपमा उपहार पाएको थियो । खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाएका थिए । तर, खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै पहिलो हाफमा स्पेनलाई २–० को अग्रता दिलाए । जेरार्ड मोरेनेको पासमा उनले हेड मार्फत गोल गरेका थिए ।
स्पेनको लागि उनको यो पहिलो गोल हो । लापोर्ट हालै फ्रान्सबाट स्पेन सरुवा भएका थिए । स्पेनको नागरिकता प्राप्त गरेसँगै फिफाले लापोर्टलाई स्पेनबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न अनुमति दिएको थियो ।
२६ वर्षीय डिफेन्डरले यस अघि फ्रान्सको युवा टिमबाट खेलेका थिए । तर, उनले फ्रान्सको सिनियर टिमबाट भने खेल्ने मौका पाएका थिएनन् ।
खेलको ५६ औं मिनेटमा सराबियाले जोर्डी अब्लाको पासमा गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । ६७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । मोराटाको स्थानमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका उनले सराबियाको पासलाई सदुपयोग गरे । त्यसपछि खेलको ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५–० को जित निकाल्यो । पाउ टोरेसको हेडर बल जुराजको खुट्टामा लाग्दै गोल भएको थियो ।
यससँगै समूह ‘ई’मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ । स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो ।स्लोभाकियाले ३ खेलमा ३ अंक जोड्यो । स्लोभाकिया समूहको तेस्रो स्थानमा छ। नकआउट चरणमा पुग्न स्लोभाकियाले अरु समूहको खेल कुर्नुपर्ने छ ।
यसैगरी अर्को खेलमा स्विडेन समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्यान्डलाई ३–२ गोलले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए ।
यस जितसँगै समूह ‘ई’को स्विडेनले तीन खेलमा सात अंक जोड्यो । समूहको शीर्ष स्थानमा रह्यो । पोल्यान्डले ३ खेलमा एक अंक जोड्यो । पोल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।

नेपालमाला
